शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यस्तो छ भोटेकोशीको बाढी बारे पूर्वानुमान महाशाखाको पछिल्लो अपडेट

यस्तो छ भोटेकोशीको बाढी बारे पूर्वानुमान महाशाखाको पछिल्लो अपडेट

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा फेरि अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि अहिले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको उल्लेख गर्दै महाशाखाले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुपर्ने देखिएको जनाएको छ।

त्यस्तै महाशाखाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको जनाएको छ।

चीन सरकारबाट प्राप्त सूचना तथा भूउपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको देखिएको छ। उक्त ताल फुट्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ।

त्यसैले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि माथिल्लो क्षेत्रमा बनेको ताल फुट्न सक्ने सम्भावनाका कारण तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

प्रकाशित: Aug 29, 2026| 08:18 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्