काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जना रहेका छन्। गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको जनाइएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना रहेका छन्।
त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६६ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना रहेको प्राधिकरणले जनाएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
