काठमाडौं। भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी गराएका हुन्।
विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको जैसवालले बताएका छन्। साथै नेपाल सरकारको अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको र बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनले जानकारी दिएका छन्।
उनले भने-'नेपालकै अनुरोधमा टनेल रेस्क्यु टिम पठाउदैछौ। त्यसका लागि रेकी टिम अवस्थाको जानकारी लिन र के कस्ता रेस्क्यू सामग्री चाहिन्छ त्यसका लागि पहिला जाने छ। त्यस्तै हामीले स्वास्थ्य टिम पनि पठाउदैछौं। त्यस्तै हामीले प्राविधिकसहित बेलिब्रिज पठाउदैछौं ताकी त्यसलाई छिटो जडान गर्न सकियोस्। एक बेलिब्रिज नेपाल पुगिसकेकोछ।'
साथै उनले आजै राहत सामाग्रीको तेस्रो विमान आजै नेपाल पठाउने पनि उनले बताएका छन्। आज करिब १२ टन बराबर मानवीय सहायताको राहत सामाग्री पठाउन लागेको उनले जानकारी दिएका छन्। भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन सामाग्री पठाएको थियो।
त्यस्तै जैसवालले भारतले राष्ट्रिय विपद प्रतिकार्य बल (एनडिआरएफ) को टिमलाई आवश्यक सामग्रीसहित पठाउन प्रस्ताव राखेको र नेपाल सरकारको जवाफ फर्खिरहेको बताए।
