शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

विराटनगर- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन्। काम, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

हालसम्म प्राप्त प्रहरी विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी सोलुखुम्बुका ३८ जना रहेका छन्। यस्तै सुनसरीका १७, मोरङका १४, उदयपुरका १३ र ओखलढुंगाका १२ जना रहेका छन्। यसैगरी इलामका ९, झापा र खोटाङका ८–८ जना, ताप्लेजुङका ६, संखुवासभाका ३, भोजपुर र धनकुटाका १–१ जना बाढीपछि बेपत्ता सूचीमा परेका छन्।

सम्पर्कविहीन भएकामध्ये अधिकांश मानिसहरू रसुवास्थित माथिल्लो त्रिशुली–१, त्रिशुली ३–बी, दुसन र डोसनजस्ता जलविद्युत आयोजनामा कार्यरत मजदुर, इन्जिनियर, सवारी चालक, सुरक्षाकर्मी तथा क्यासिनो र होटेल व्यवसायी रहेका छन्। केही व्यक्ति भने गोसाइँकुण्ड तीर्थयात्रा तथा तिब्बततर्फ ट्रेकिङ गाइड र पर्यटकका रूपमा पुगेका थिए।

यसैबीच, सम्पर्कविहीनको सूचीमा रहेकामध्ये ८ जना भने परिवारको सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। सम्पर्कमा आउनेहरूमा उदयपुरका ३ जना, सुनसरीका २ जना तथा इलाम, ओखलढुंगा र सोलुखुम्बुका १–१ जना रहेका छन्। 

प्रकाशित: Aug 28, 2026| 10:01 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्