काठमाडौं- रसुवास्थित भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट पूर्वाधार क्षेत्रमा २० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। बुधवार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहित विभिन्न क्षेत्रका सडक, मोटरेबल पुल र झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुर्याएको हो। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीले १० अर्ब रुपैयाँ बराबरको पुलमा र १० अर्ब रुपैयाँ बराबर जति सडकमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। बाढीले ३२ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ५० किलोमिटर सडकमा पूर्ण रुपमा क्षति भएको प्रवक्ता न्यौपानेले जानकारी दिए।
क्षतिग्रस्त पुल र सडक पुनःनिर्माण गर्नुपरेमा अब ५० अर्ब रुपैयाँ जति लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ। अब पूर्वाधार पुनःनिर्माण गर्नु परेमा जति ठूलो विपद् आएपनि त्यसलाई रोक्न सक्ने गरी निर्माण गर्नुपर्ने प्रवक्ता न्यौपाने बताउँछन्।
बाढीेले अवरुद्ध सडकहरु समेत अहिले सम्म सुचारु हुन नसकेको अवस्था रहेको सडक विभागले जनाएको छ। बाढी आएपछि अवरुद्ध काठमाडौं–मुग्लिङ सडक साँझसम्म खुल्ने विभागका प्रवक्ता न्यौपाने बताउँछन्। अकस्मात् आएको विनाशकारी बाढीले विभिन्न सडकखण्डहरूमा क्षति पुर्याएको विभागले जनाएको छ। बाढीपछि स्याफ्रुबेँसी–रसुवागढीबीच पूर्ण रूपमा सम्पर्क टुटेको छ। गत वर्षको बाढीपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेकोमा उक्त सडकखण्ड फेरि बाढीको चपेटामा परेको हो। बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक पनि अवरुद्ध रहेको छ। कोल्वुघाटको पुलमा क्षति र देवीघाटको पुल बगाएको त्रिशूली क्षेत्रमा लेदो जमेर अवरुद्ध नै रहेको विभागले जनाएको छ।
बाढीले बगाएका पुलमध्ये मितेरी, भोटेकोशी (चिलिमे), चिलेमे खोला, स्याफ्रुबेँसी, त्रिशूली नदी, भोटेकोशी नदी, खाल्टे, बेत्रावती रहेका छन्। यसैगरी, त्रिशूली नदी (तुप्चे), त्रिशूली नदी पुल (त्रिशूली बजार), त्रिशूली नदी नयाँ (त्रिशूली बजार), त्रिशूली नदी (सिमचौर), सस्पेन्स बिज्र (देवीघाट), त्रिशूली नदी (देवीघाटनजिक), तान्डी खोला (देवीघाट), तान्डी खोला नयाँ (देवीघाट), त्रिशूली नदी (श्रीखाली), त्रिशूली नदी (बुद्धसिंहघाट), त्रिशूली नदी (रातमाटे) र त्रिशूली नदी (केउरिनी) रहेको छ। यस्तै, त्रिशूली नदी (नयाँ गल्छी), त्रिशूली नदी (जरे बगैँचा), त्रिशूली नदी (घाटबेँसी), त्रिशूली नदी (मलेखु, फुर्केखोला) रहेको विभागले जनाएको छ।
