बिहीबार, भदौ ११, २०८३

रसुवा बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

सुर्खेत- रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुम्लाका १० जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा आठ पुरुष र दुई महिला रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले बताए।

खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन छन्। उमेश बोहोराकी श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन।

त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ का ४१ वर्षीय नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन छन्। शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत रहेको प्रशासनले जनाएको छ।

सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू सुरक्षित रहेको आशयको पोस्ट गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको उनले बताए।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रसुवा बाढीमा सम्पर्कविहीन भएका नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको बताएका छन्।

मुख्यमन्त्री शाहीले विपद्का समयमा प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोज तथा उद्धारलाई तीव्र बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित: Aug 27, 2026| 11:50 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्