काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १६५ जनाको मृत्यु भएको छ भने ८२६ जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा ७३ जना घाइते भएका छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जनासहित सर्वसाधारणसमेत रहेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट ५७९ जना पर्यटक प्रभावित भएका छन्। रसुवाको धुन्चेतर्फबाट हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरिएको छ, जसमा १४ नेपाली र १०९ विदेशी नागरिक रहेका छन्।
बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ, चितवनलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र सडक, पुल, जलविद्युत्, सञ्चार तथा खानेपानीका संरचनामा समेत ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ७ हजार ४९१ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा खोजीका लागि २२९ पटक हेलिकोप्टर उडान गरिएको र प्रभावित क्षेत्रमा घाइतेको उपचार, अस्थायी बसोबास, खाद्यान्न, खानेपानी तथा औषधिको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।