काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीका तटीय क्षेत्रमा प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विपद्पछि प्रभावित क्षेत्रमा प्रहरी जनशक्ति व्यापक रूपमा परिचालन गरिएको जानकारी दिए।
उनले भने, ‘भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँ र पूर्वी नवलपरासी समेत प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ।’
उनले रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ प्रहरीमध्ये ३२ जना प्रहरी सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन रहेको बताए। बाढी तथा विपद्का कारण विभिन्न जिल्लामा हालसम्म १०० वटा शव फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।
उनले भने, ‘रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जना प्रहरीमध्ये ३२ जना प्रहरी सम्पर्कमा आएका छन् भने २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन्। यसैगरी हालसम्म विभिन्न जिल्लाहरूमा १०० वटा शव फेला परेको छ। यस प्राकृतिक विपद्लाई मध्यनजर गर्दै नेपाल प्रहरीबाट केन्द्र अर्थात् प्रहरी प्रधान कार्यालयबाट र स्थानीय प्रहरीहरू समेत परिचालन भएको अवस्थाहरू छ।’
उनले उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक चन्दबहादुर बुढाथोकीको कमान्डमा थप मेडिकल टोलीसहित २२ जना प्रहरी रसुवातर्फ पठाइएको बताए। खोज तथा उद्धारका लागि चारवटा ड्रोनसमेत परिचालन गरिएको उनले उल्लेख गरे।
उनकाअनुसार प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रहरीतर्फबाट मात्रै ३ हजार ३१८ जना जनशक्ति परिचालन गरिएको छ। प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र जनशक्ति व्यवस्थापन गरिरहेको जनाएको छ।
यसैगरी शव व्यवस्थापन, मुचुल्का लेखन, कानुनी सहायता तथा समन्वयका लागि प्रहरी नायव महानिरीक्षक सुदर्शनप्रसाद कोइरालालाई आपत्कालीन समन्वय केन्द्रमा खटाइएको उनले बताए। प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराको कमान्डमा ‘रिलिफ एन्ड रेस्क्यु’ टोलीसमेत रसुवातर्फ परिचालन गरिएको बताए।
नेपाल प्रहरीले बाढी तथा विपद् प्रभावित जिल्लामा उद्धार, खोज तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई फोकल पर्सनका रूपमा समेत परिचालन गरेको उनले बताए।