सुर्खेत- रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन्।
विभिन्न कामको सिलसिलामा रसुवा पुगेका छायाँनाथ रारा नगरपालिका–१० का लालबहादुर सेजुवाल र शिव सेजुवाल बाढीपछि सम्पर्कविहीन भएका हुन्।
तिब्बत (चीन) तर्फबाट सुरु भई रसुवाको भोटेकोशी नदी हुँदै आएको भीषण तथा आकस्मिक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ।
बाढीपछि आफ्ना दुई नागरिक सम्पर्कविहीन भएको भन्दै छायाँनाथ रारा नगरपालिकाले उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेको छ।
नगर प्रमुख विष्णुकुमार भामद्वारा बुधबार जारी गरिएको आधिकारिक सूचनामा लालबहादुर सेजुवाल र शिव सेजुवालको खोजी तथा उद्धार कार्यमा आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ।
नगरपालिकाले विपद्को यस कठिन अवस्थामा सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउनसमेत अनुरोध गरेको हो।