काठमाडौं। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा भन्सार एजेन्टका रुपमा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। भन्सार एजेन्ट महासंघ नेपालका सचिवालय प्रमुख कृष्ण धितालका अनुसार भन्सार कार्यालयमा एजेन्टका रुपमा छ जना कर्मचारी मध्ये चार जना कर्मचारी सम्पर्क विहीन रहेका छन्।
अहिलेसम्म दुई जना कर्मचारी मात्रै सम्पर्कमा आएको उनले बताए। भन्सार कार्यालयमा दैनिक भन्सार एजेन्टका रुपमा दैनिक छ जना कर्मचारी कार्यरत रहँदै आएका थिए।
सम्पर्कविहीन बाँकी चार जना कर्मचारीहरु अझै सम्पर्कमा आउन नसकेको बताउँदै सचिवालय प्रमुख धितालले बिहानदेखि सम्पर्कविहीन कर्मचारीलाई सम्पर्क गर्ने खोज्दा अहिलेसम्म सम्पर्क हुन नसकेको बताए। सचिवालय प्रमुख धितालले भने,‘दैनिक छ जना सँग मेरो सम्पर्क भइराख्ने साथीहरु मध्ये दुई जनाको फोन लाग्यो। कुरा भयो। दाइ अहिले हामी सुरक्षित छौँ। अलि माथि तिर छौँ। तलको वस्तु स्तिथी हामीले बुझन सकेका छैनौँ, भनेर भनेका छन्।
त्यहाँको प्रमुख साथीको फोन बिहानदेखि उठिरहेको छैन।’ बाढीले के–कति क्षति गर्यो त्यसको अहिले तथ्याङक निकाल्न नसक्ने अवस्थामा रहेको उनले बताए। भन्सार कार्यालयमा एजेन्टका रुपमा १० जना कर्मचारीको दरबन्दी रहेको भएपनि दैनिक छ जना कर्मचारी कार्यरत रहँदै आएका थिए भने, बाँकी चार जना कर्मचारी कार्यालयमा काम पर्दा मात्रै जाने गरेको महासंघले जनाएको छ।