बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एनआरएनएद्वारा लन्डन दूतावासमा बुद्ध मूर्ति स्थापना अभियान : पर्यटन प्रवर्द्धनको आवरणमा मानव ओसारपसारको आरोप

एनआरएनएद्वारा लन्डन दूतावासमा बुद्ध मूर्ति स्थापना अभियान : पर्यटन प्रवर्द्धनको आवरणमा मानव ओसारपसारको आरोप

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपालमा पर्यटन भित्र्याउने र धार्मिक–सांस्कृतिक प्रवर्द्धन गर्ने नाममा भिजिट भिसाको धन्दा र मानव ओसारपसार गरी ठूलो रकम असुल्ने नयाँ योजना सुरु भएको गम्भीर आरोप सार्वजनिक भएको छ।

एनआरएनए पर्यटन प्रवर्द्धन समितिका संयोजक तथा प्रवक्ता सोमनारायण (सोम)सापकोटाको मुख्य नेतृत्वमा बेलायतस्थित लन्डन राजदूतावासमा बुद्धको प्रतिमा स्थापना गरी सोही अभियानलाई संसारभर फैलाउने योजनाअन्तर्गत काम तीव्र पारिएको हो।

आगामी अगस्ट २९ मा लन्डन दूतावासमा बुद्ध मूर्ति स्थापना गर्ने तयारी भइरहेको छ, जसमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष लोक दाहाल तथा एनसीसी युकेका वर्तमान र पूर्व पदाधिकारीहरूले पूर्ण साथ दिएका छन्।

प्रवक्ता सापकोटाले पहिलो पंक्तिमा रहेर अस्ट्रेलिया, बेल्जियम, क्यानडा, इजरायल लगायतका एनसीसीहरूसँग समन्वय गरिरहेका छन्। स्रोतका अनुसार नेपालमा पर्यटन भित्र्याउने नाममा बुद्धको मूर्ति स्थापनालाई विश्वभर फैलाउने र यसैको आवरणमा भिजिट भिसामा नेपालीहरूलाई विदेश ल्याएर करोडौँ रुपैयाँ असुल्ने दीर्घकालीन गिरोहगत योजना अघि सारिएको एनआरएनएकै अभियन्ताले आरोप लगाएका छन् ।

यसअघि माल्टा र पोर्चुगलमा सयौँ नेपालीलाई भिजिट भिसामा पुर्याएर करोडौँ रुपैयाँ कमाएको गम्भीर आरोप सापकोटामाथि लाग्दै आएको छ। सोही विवादका कारण नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लागेका सापकोटाले पार्टीको राजनीतिक शक्ति प्रयोग गरेर एनआरएनएमा उपमहासचिव वा उपाध्यक्ष पद हथियाउने प्रयास गरेका थिए।

तर रास्वपाले सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप नगर्ने नीति लिएपछि उनी अध्यक्ष डा.हेमराज शर्माको आडमा प्रवक्ता बन्न सफल भएको दाबी गरिएको छ। यो विवादित योजनालाई बृहत्तर बनाउन बेलायतका कार्यवाहक राजदूत विपिन दुवाडीले समेत गैरजिम्मेवार भूमिका खेलेका छन्।

बेलायत जस्तो धर्मनिरपेक्ष राज्यमा रहेको कूटनीतिक नियोगभित्र एउटा विशिष्ट धर्मलाई प्राथमिकता दिँदै मूर्ति स्थापना गर्न स्वीकृति दिने दुवाडीको निर्णयले भविष्यमा अन्य धर्मावलम्बीहरूले पनि नियोगमा धार्मिक प्रतीक राख्न माग गरेमा कूटनीतिक जटिलता पैदा हुने निश्चित छ।

नेपालमा बुद्ध जन्मस्थलका जिल्लाअन्तर्गत रहेका गाउँ र नगरपालिकाहरूलाई जोडेर 'बुद्ध सर्किट' स्थापना गर्ने र त्यहाँका पदाधिकारी तथा सर्वसाधारणलाई मूर्ति स्थापना भएका वैदेशिक स्थलहरूमा घुमाउने बहानामा मानव ओसारपसार गर्ने यो लामो योजनाविरुद्ध अहिले संघभित्र र बाहिर तीव्र असन्तोष पैदा भएको छ।

प्रकाशित: Aug 26, 2026| 10:18 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्