बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह

हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघसंस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ।

प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उद्धारमा जुट्न आग्रह गरेको हो।

बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनतर्फ समेत जोखिम बढेको छ। पछिल्लो विवरणअनुसार उद्धारका लागि नेपाली सेनाका हेलिकोप्टर तथा ड्रोन परिचालन भइरहेका छन्।

यसैबीच, प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफू रहेको स्थानबाट उद्धार टोलीलाई संकेत गर्न आग्रह गरेको छ।

प्राधिकरणका अनुसार उद्धारको आवश्यकता भएका व्यक्तिले आफू बसेको वा रहेको स्थानमा आगो बालेर धुँवा निकाल्न सक्नेछन्। यस्तो संकेतले हवाई खोज तथा उद्धार टोलीलाई प्रभावित व्यक्तिको स्थान पहिचान गर्न सहयोग पुग्नेछ।

प्राधिकरणले विपद्को यस अवस्थामा सम्बन्धित सबै निकाय तथा नागरिकलाई समन्वय र सावधानी अपनाउन आग्रह गरेको छ।


प्रकाशित: Aug 26, 2026| 16:16 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्