काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान अनुरोध गरेको हो।
प्राधिकरणले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै सहायता आवश्यक भएमा सम्बन्धित टोल फ्रि नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
यस्तै, प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ। ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।
विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई प्राधिकरणले अपिल गरेको छ।
प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।