बुधबार, भदौ १०, २०८३

बाढीले रसुवाका यी जलविद्युत आयोजनामा क्षति

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न आग्रह गरेको छ।

नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिक तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र थप जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत अनुरोध गरिएको छ। प्राधिकरणले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ।

विद्युत् आपूर्ति नियमित बनाउन हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति पूर्ण रूपमा नियमित नहुँदासम्म धैर्य गर्न र सोहीअनुसार सूचना प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Aug 26, 2026| 12:07 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्