इलाम । माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन्। एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ। गत वर्ष रु ३० लाख आम्दानी भएको थियो। यस वर्ष ७० लाख आम्दानी लिने लक्ष्य छ।
कृषक निश्चल राईका अनुसार यसरी गाउँलेले सामूहिक खेती गरेको ६ वर्ष भयो। तर, समूह वा संस्था गठन गरिएको छैन।
‘मलेसिया तीन वर्ष बसेर गाउँ फर्केपछि खेतीमा जाँगर चलेको हो।’ निश्चलले भने, ‘हामी सबै युवा एकपटक विदेश गएर फर्किएकाहरू छौँ। खाडीमुलुकको रेमिट्यान्सले घर चलाउनुपथ्र्यो। अहिले गाउँमै आम्दानी छ। जीवनस्तर फेरिएको छ।’
छ वर्षअघि आठ हजार बिरुवा लगाएर सामूहिक खेती सुरु गरिएको थियो। अहिले गोलभेँडा ४५ हजार, अकबरे १५ हजार, भेडे खुर्सानी ७००, काँक्रा ५०० को हाराहारीमा लगाइएको निश्चलको भनाइ छ। समूह गठन नभए पनि आपसी समझदारीले अहिलेसम्म कुनै विवाद भएको छैन।
‘सबै भेला भएर बैठक बस्छौँ। काम गर्ने तालिका बनाउँछौँ’, कृषक सन्देश देवानले भने, ‘सबै बिरुवा एकैपटक लगाउँदैनौँ। चरणबद्ध खेती लगाउँछौँ। पुससम्म सिजन–सिजनमा हुनेगरी खेती गरिन्छ। सबै काम सामूहिक हुन्छ। यसपटक ७० लाखभन्दा बढी आम्दानीको लक्ष्य छ।’
उत्पादन भएका कृषिउपज बिक्री गर्न झापा लगिन्छ। तर, सरकारले कृषिजन्यउपजको दररेर नतोकेका कारण किसानले पाउने मूल्यको टुङ्गो हुँदैन।
‘उत्पादन धेरै हुने भएकाले साना गाडीले उठाउँदैनन्। झापाका व्यापारीले मालवहाक गाडी पठाउँछन्। हामी सामान लिएर जान्छौँ। तर, मूल्य कति पाइने हो थाहा हुन्न’, निश्चलले भने, ‘कहिलेकाहीँ रु १० किलोले दिएर आउनुपर्छ। टमाटार कम्तीमा ४० र अकबरे न्यूनतम २५० भन्दा कम मूल्यमा बेच्नुपर्यो भने किसानलाई घाटा लाग्छ। उत्पादन लागत नै उठ्दैन। सरकारले दररेट कायम गरिदिए किसानलाई काम गर्न सञ्च हुन्थ्यो।’
नामसालिङ कृषि उत्पादनको उर्वर भूमि हो। यो ठाउँको इतिहास मलिलो ठाउँका रूपमा परिचित छ। यहाँका मानिसहरू अधिकांश पढेलेखेका पनि छन्। तर, सरकारले माटो परीक्षणसम्म गरेको छैन। “कृषि ज्ञान केन्द्रले अब एक पटक यहाँको माटो परीक्षण गरिदिएर कुन माटोमा कुन कृषिउपज फस्टाउँछ भन्ने छुट्याइदिए हुन्थ्यो,’ निश्चल भन्छन्।
गाउँपालिकाले खाद्यान्नमा आत्मनिर्भर बन्न एक वडा एक उत्पादन कार्यक्रम गरिरहेको छ। छवटै वडामा विभिन्न खेती छनोट गरेर व्यावसायिक कृषक, कृषि फर्म, समूह वा सहकारीलाई अनुदान वितरण गरिरहेको छ। पालिकाले यस वडामा अकबरेखेती छनोट गरेको छ। गत वर्ष अकबरे किसानले अनुदान पनि पाए। किसानहरू स्थानीय सरकारको थोरै बजेटले अनुदान पर्याप्त नहुने बताउँछन्। प्रदेश र सङ्घीय सरकारले कृषिमा अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।
“स्थानीय सरकारको बजेट कम हुन्छ। पुगेसम्म त दिएकै छ। तर, उपल्लो दुई वटा सरकारले कृषिमा अनुदान दिए हुन्थ्यो,” कृषक मङ्गेस देवानले भने।
गाउँपालिकाका किसान सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न कम्मर कसेर लागेका छन्। गाउँपालिकाले सबै वडाका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन थप्न अनुदान पनि दिइरहेको छ। यता माईजोगमाई–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ। समूहले सामूहिक रूपमा बेसारखेती गर्छ। दुई वर्षअघि एक मन९४० केजी० बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरिएको थियो। यस वर्ष १२० मन उत्पादन हुने अनुमान छ।
गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष रु दुई लाख अनुदान दियो। यसपटक हिउँदे अधिवेशनबाट ड्राएर मेसिन र पिस्ने मेसिनका लागि रु दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित भएका छन्। समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ। अब, काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाइनेछ।
‘सामूहिक खेती गरेर आर्थिक उपार्जन गर्न ०८० सालमा २४ परिवारले समूह खोल्यौँ। दुई वर्षमा ३६ घर पुगियो, ‘समूहका सचिव सुमन बेगाले भने, ‘रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट दुई जातको एक मन बेसार प्रतिकेजी रु ७० ले ल्याएर रोपेका थियौँ। खन्ने बेला हुन लाग्यो। एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ।’
बेसार दश रोपनी क्षेत्रफलमा रोपिएको छ। “बेसार कटिङ मेसिन ल्याएका छौँ। मेसिनको क्षमता प्रतिघण्टा १०० देखि ३०० केजी छ। काँचो बेसार एक पटकमा ६० केजीसम्म सुकाउन सकिन्छ। पिस्नेले ३० केजी प्रतिघण्टा पिस्छ’, सचिव बेगाले भने, ‘जमिन लिजमा लिइएका छौँ। उद्योग स्थापना गर्ने तयारी छ। अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी हो। स्थानीय बजार, काठमाडौँ र विदेशमा हङकङ मुख्य बजार हुन्छ।’
समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ। ‘चार सय केजी उत्पादन भयो। दुई सय प्रतिकेजीले बिक्री गर्यौँ। अर्को साल बढाउँछौँ,’अध्यक्ष जयबहादुर लिम्बूले भने।
गत वर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ। एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियानअन्तर्गत वडा नं ५ लाई बेसारखेती छनोट गरिएको थियो।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषिउपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको हो।
‘व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्महरूलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ’, अध्यक्ष थेबेले भने, ‘वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी९अकबरे० र ५ नं मा बेसारखेतीमा अनुदान दिइएका छौँ।’
अध्यक्ष थेबेका अनुसार गत वर्ष छ वटा वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ जना उद्यमीलाई रु १५ लाख अनुदान वितरण गरिएको थियो। पहिले कार्यक्रमको सूचना आह्वान हुन्छ। प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ। प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ। दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्त्वपूर्ण छ।
गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने कार्यक्रम गरिरहेको छ। गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ।
यसका लागि दुग्ध तथा घ्यू प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो।
गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो। गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भनिन्, ‘व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ। हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो।’
पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो।
उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट छ व्यवसायलाई प्रोत्साहित गर्न नगद अनुदान दिइएको थियो। वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गरेको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ।
त्यसैगरी वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो।
यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन्। अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताइन्। बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउँछिन्।
यो गाउँपालिकामा पशुपालन धेरै छ। प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ। गाउँपालिकाले पशुमा खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइरहेको छ। गाउँपालिकामा आलु, अदुवा, अलैँची, अकबरे, ओलन, अम्रिसो, दुग्ध उत्पादन बढी हुने गरेका छन्। रासस