शुक्रबार, फागुन २९, २०८२

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

 |  शुक्रबार, फागुन २९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २९, २०८२

चितवन। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएसँगै बिदाइ हुँदै गर्दा उनीहरुमा खुसी छाएको थियो।

National life

निर्वाचनको समयमा भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारी बिदाइ हुँदै गर्दा रमाइलो महसुस गर्दै थिइन्। विगत ४० दिन निर्वाचनका लागि राज्यले खटाएको ठाउँमा गएर सेवा गर्ने अवसर पाएको बताउँदै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाउनु खुसीको कुरा भएको बताइन्। राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायले कति मेहनतका साथ काम गर्ने रहेछन् भन्ने कुरा स्पष्टसँग बुझ्ने अवसर पाएको भण्डारीले बताइन्। आफूले निर्वाचनमा खटिँदा राज्यबाट पाएको सेवासुविधा छोराछोरीको अध्ययनमा खर्च गर्ने सोचमा उनी रहेकी छन्।

यस्तै निर्वाचन शान्तिपूर्ण भएको भन्दै रेनुका पौडेल खुसी रहेकी छन्। उनी कक्षा १२ को अध्ययनपछि कोरिया, न्युजिल्यान्डलगायतका देशमा गएर काम गरे पनि नेपालमा जनताको र राज्यको पहिलोपटक सेवा गर्ने अवसर पाएको बताउँछिन्। उनले भनिन्, “सुरुमा त मैले काम गर्न सक्दिनँ कि भन्ने लागेको थियो। पछि बानी पर्यो।”

जब आफूले काम गर्दै जाँदा प्रहरीले कसरी काम गर्ने रहेछन्, बर्दी लगाई सकेपछि के सोच आउने रहेछ भन्ने ज्ञान भएको पौडेलले बताइन्। साँच्चिकै देशको सेवक भएर काम गरेको अनुभूति भएको उनले सुनाइन्। पौडेलले भनिन्, “४० दिनको कामले म सन्तुष्ट छु। यहाँ सेवा गर्दा आएको पैसाले स्नातक अध्ययन गर्ने योजना छ।”

इलाका प्रहरी कार्यालय रत्ननगरअन्तर्गत रही निर्वाचनमा सहभागी भएकी सुनिता प्रजा बस्नेत प्रहरीमा सहभागी भएर निर्वाचन सम्पन्न भएकामा निकै खुसी छिन्। नजानेका कुराहरु जान्ने अवसर पाएको बताउँदै उनले अब राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्ने भएछु भन्ने लागेको उनी बताउँछिन्। बस्नेतले निर्वाचन प्रहरीमा खटिएर पाएको सुविधालाई व्यवसायमा प्रयोग गर्ने आफ्नो इच्छा रहेको बताइन्। उनले कुखुरा पालन गरेर घर खर्चको व्यवस्थापन गर्ने इच्छा रहेको बताइन्।

Laxmi sunrise bank
kumari

इलाका प्रहरी कार्यालय खैरहनी मातहतमा रहेर निर्वाचनमा खटिएका सङ्कल्प केसीले निर्वाचन शान्तिपूर्ण रुपमा गर्ने जिम्मेवारी निर्वाचन प्रहरीमार्फत पाएको भन्दै आफूमा उत्साह बढेको बताए। उनले भने, “निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकामा निकै खुसी छु।” राज्यले आवश्यक ठानेर अन्य समयमा समेत जिम्मेवारी दिएमा आफू जिम्मेवारी सम्हाल्न तयार रहेको केसीको भनाइ छ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो। जसमध्ये नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरीतर्फ ३२५ निर्वाचन प्रहरी रहेका थिए। उनीहरुलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सिटिइभिटी र घरेलु कार्यालयसँग सहकार्य गरेर दुई चरणमा व्यावसायिक काम सिकाउन सरकारले पहल गर्ने बताए। सिटिइभिटीबाट एक वर्षमा एक हजार २०० जनाका दरले तालिमको व्यवस्था गरिएको उनले जानकारी दिए। रासस

प्रकाशित: Mar 13, 2026| 17:10 शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्