शुक्रबार, फागुन २९, २०८२

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

 |  शुक्रबार, फागुन २९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २९, २०८२

नारायणगढ । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ। यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ। 

National life

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको छ।

कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले सुरुआतीमा मेसिनको महत्त्वबारे बुझाउन र प्रयोग सिकाउन केही कठिनाइ भए पनि हाले किसान आफैँले मेसिन खोज्न थालेका बताए।

‘सुरुका वर्षमा कर्मचारीले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधिबारे सिकाउनुपर्थ्यो। हाल धेरै किसानले सिकिसकेका छन् र मेसिनको माग पनि बढ्दै गएको छ’, उनले भने। 

मेसिन प्रयोग गर्दा कम लागतमा बढी उत्पादन हुने भएकाले किसानहरू आकर्षित हुँदै गएको पाण्डेले बताए। ‘उत्पादन बढाएर लागत घटाउन कृषिमा यान्त्रिकीकरण बढाउनैपर्छ,’ उनले भने, ‘खेतीमा यान्त्रिकीकरण भए उत्पादन लागत झण्डै ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ।’

Laxmi sunrise bank
kumari

भरतपुर महानगरपालिका–६ देवनगरका किसान प्रकाश श्रेष्ठले  यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट र दुई बिघामा परम्परागत रूपमा रोपाइँ गरिरहेको जानकारी दिए। ‘मेसिनले रोप्दा ज्याला कम लाग्दो रहेछ।  उत्पादन कति हुन्छ हेर्न बाँकी नै छ’, उनले भने।

श्रेष्ठका अनुसार मेसिनबाट प्लास्टिक ट्रेमा राखेर फरक तरिकाले बेर्ना तयार गर्नुपर्ने हुन्छ। सामाजिक सञ्जालमा मेसिनबाट धान रोपेको देखेपछि आफूले जानकारी लिएर प्रयोग सुरु गरेको उनले सुनाए। 

कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराइएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएको कृषि अधिकृत पाण्डेले बताए। 

उनका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर करिब ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो भने यस वर्ष थप ९८ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। 

‘मेसिनबाट धान रोप्दा बीउ कम लाग्छ, ज्याला खर्च घट्छ र उत्पादन पनि बढ्छ’, पाण्डेले भने, ‘एक कठ्ठा क्षेत्रफलमा परम्परागत तरिकाले रोप्दा करिब दुई किलो बीउ लाग्ने भए पनि मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ।’
 
चितवनमा आव २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु गरिएको थियो। हाल जिल्लामा १३ वटा मेसिन सञ्चालनमा छन्। यस वर्ष मात्र किसानलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको छ। जिल्लामा चैतेधान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोनको कमाण्ड क्षेत्र बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको अधिकृत पाण्डेले बताए ।

प्रकाशित: Mar 13, 2026| 17:02 शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्