आइतबार, साउन ४, २०८२

'घरमै सुरक्षित छैनन् छोरी'

 |  आइतबार, साउन ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२

vianetvianet

गोरखा- गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो। गोरखा नगरपालिका-११ को एक विद्यालयमा पढाउने शिक्षिकाले प्रहरीलाई ११ वर्षीया बालिकालाई निजका बुबाले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिइन्।

प्रहरीले तत्कालै बालिकाको घर पुगेर निजका बुबालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थाल्यो। हाल निजका बुबाविरुद्ध बालयौन दुर्व्यवहार शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

“आमा शारीरिक रूपमा अशक्त भएपछि बुबाले रक्सी सेवन गरी छोरीमाथि यौनशोषण गर्ने गरेका अनुसन्धानका क्रममा पाएका छौँ”, उनले भने। उक्त घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता भएको थियो।

गोरखा-५ की १७ वर्षीया किशोरी शारीरिक रूपमा अशक्त भएकै कारण बुबाबाट यौनशोषणमा परेकी छिन्। पारिवारिक झगडाका कारण आमाले छोडेपछि रेखदेख गर्ने नाममा बुबाबाट यौनशोषण भोग्नु परेको उनी बताउँछिन्।

“रक्सी खाएर बुबाले वर्षौँदेखि उनीमाथि डरत्रास, धाकधम्की देखाएर यौनशोषण गर्दै आएका रहेछन्”, प्रहरी उपरीक्षक विकले भने, “सहनै नसक्ने भएपछि छरछिमेकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि आरोपीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेका छौँ।”

गोरखा-८ की १५ वर्षीया किशोरीको कहानी पनि परक छैन। उनले बुबाबाट यौनशोषणमा पर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि निजका बुबालाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विकले जानकारी दिए।

आमा विदेशमा रहेकाले बुबाले रक्सी खाएर छोरीमाथि यौन दुर्व्यवहार गर्ने गरेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटना गाउँबस्तीमा छन्।

“घटनाको प्रकृति र परिवेश अध्ययन गर्दा विशेष गरी आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका समुदायमा यस्तो घटना बढी घटिरहेका छन्”, प्रहरी उपरीक्षक विकले भने, “शिक्षा, चेतनाको अभाव, मादकपदार्थ सेवन, पारिवारिक झगडालगायत कारणले यस्ता घटना बढी हुने गरेका पाइएको छ।”

प्रकाशित: Jul 20, 2025| 08:01 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्