काठमाडौं- नेपाल विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटलयान्ड विरुद्ध ऐतिहासिक जीत हात पार्न बाट चुकेको छ। दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले शतकिय साझेदारी गरेपनि नेपाल घरेलु टिम संग दुई रनले पराजित भएको हो।
स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो। भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो।
बलियो लक्ष्य पछ्याउँदा नेपालको १८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्याएका थिए। तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो।
अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए। पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो।
ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो। अन्तिम बलमा ललित बोल्ड भए।
नेपाल एक साताभित्रै अर्को कीर्तिमानी जितबाट चुकेको हो। नेपालले ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन। स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तमान बनाएको नेपाललाई आज त्यो कीर्तिमान तोड्ने अवसर थियो।
लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सिमित छ। स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ।
लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन्।