शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पोखरामा तरबुजा उत्पादनमा फड्को, स्थानीय उत्पादनले बजार तताउँदै

पोखरामा तरबुजा उत्पादनमा फड्को, स्थानीय उत्पादनले बजार तताउँदै

 |  शनिबार, जेठ ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०८२

गण्डकी– पोखरा उपत्यकामा यस वर्ष तरबुजाको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। पोखरा–३३ सुरौदी खोला किनारा, पोखरा–१३ ढाँडबेसी लगायतका क्षेत्रमा लटरम्म तरबुजा फलेका छन्।

National life

विगतमा तराई र भारतबाट आयातित तरबुजामा निर्भर पोखरेलीहरू अहिले आफ्नै ठाउँमा उत्पादित स्वादिष्ट तरबुजाको स्वाद लिइरहेका छन्।

सुरौदीको तिखेढुङ्गामा रमेश आचार्य र ज्ञानबहादुर कार्की तथा ढाँडबेसीमा ई. विक्रम बरालसहितका युवा किसानहरूको सामूहिक प्रयासले तरबुजा खेतीलाई व्यावसायिक रूप दिएको छ।

ढाँडबेसीमा १५ रोपनीमा गरिएको खेतीबाट चार महिनामै १५ लाख रुपैयाँ आम्दानी भएको ई. बरालले जानकारी दिए। स्थानीय स्तरमै गुणस्तरीय तरबुजा उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण यी किसानहरूले प्रस्तुत गरेका छन्।

“हामीले लगाएको तरबुजा लटरम्म फलेको छ”, ई. बरालले भने, “हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।”

Laxmi sunrise bank
kumari

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले बीउ र मलचिङमा सहयोग गरेको छ।

पोखरा–१३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको छ। महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको छ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा बिहीबार ‘तरबुजा मेला २०८२’ आयोजना गरिएको थियो। वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ र महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा आयोजित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदानप्रदान, सफल किसानका अनुभव, परिकार प्रदर्शनी र बाली उपचार शिविर सञ्चालन गरिएको थियो।

पोखरामा नै फल्यो करिब आठ किलोको तरबुजा, किसान पुरस्कृत
मेलामा प्रदर्शनीमा राखिएको पोखरा–३३ सुरौदीको तरबुजा सात किलो ८६० ग्राम तौलको भेटिएको थियो। सबैभन्दा ठूलो तरबुजा फलाउने रमेश आचार्य र ज्ञानबहादुर कार्कीलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो। तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ क्रमशः पहिलो र दोस्रो भए।

उत्कृष्ट तरबुजा उत्पादन गर्ने मणिद्विप कृषि फर्म प्रथम, पिपलडाली पशु तथा कृषक समूह दोस्रो र सूर्यचन्द्र कृषक समूह तेस्रो भएका थिए। उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो।

प्रकाशित: May 17, 2025| 08:31 शनिबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्