काठमाडौं- सर्वोच्च अदालतले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिट दरपीठ गरेको छ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन्।
समाचारको भरमा रिट दर्ता गर्न नमिल्ने भन्दै रिट दर्ता नगरिएको हो। पौडेललाई गभर्नर बनाउन लागिएको भन्दै दुई अधिवक्ताले रिट पेश गरेका थिए। गभर्नर सिफारिस समितिले उनलाई सिफारिस गरिसकेको छैन।
राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने रिटमा उल्लेख थियो।