शनिबार, असार ६, २०८३

तमानखोलाको नर्जाखानीका घरघरमा धारा जडान

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

बागलुङ- यहाँको सबैभन्दा विकट तमानखोला गाउँपालिका-६ नर्जाखानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो। एक गाग्री पानी भर्न घण्टौँ कुर्नुपर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ।

National life

गाउँपालिकाको ४० लाख रूपैयाँ लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताइन्।

छन्त्यालले भनिन्, 'बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ।'

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत पाँच लाख रूपैयाँ बराबरको काम गरेका थिए। आयोजनाद्वारा नर्जाखानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन् भने ६ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ।

आयोजना सुरु भएको दुई वर्षभित्र  गाउँलेले 'एक घर एक धारा' निर्माण गर्न सफल भएका हुन्। भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। रासस

Shivam cement

प्रकाशित: May 13, 2025| 17:31 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्