काठमाडौं- काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि बञ्चरेडाँडा लगिने फोहर घटेको छ। फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ।
वर्गीकरण अघि कामपाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा जाने गरेको थियो। अहिले फोहरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।
हाल वडा नं. १२, १८, १९, २०, २१, २२, २३ २४, २५, र २७ मा स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ। विभाग प्रमुख राईका अनुसार अहिले कामपाले ६ वटा क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम थालेको छ।
केही समयका लागि प्रत्येक क्षेत्रमा एक-एकवटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी फोहोर राखिने छ। त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा विभागले योजना बनाएको छ। त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिदै आएको छ। उपत्यकाको फोहोरले बञ्चरेडाँडामा प्रदूषण बढ्नाका साथै फोहरमैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको प्रमुख राईको भनाइ छ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ।
यसरी गर्न सकिन्छ फोहर व्यवस्थापन
भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमका फोहर जम्मा भएको हुन्छ। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन्।
तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहर हुन्। यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम नकुहिने फोहर हुन्। रासस