हामीले खाना खाने भाँडाकुँडा धुन स्पन्ज प्रयोग गर्छौं। तर भान्साको स्पन्जले ब्याक्टेरिया बढ्नको लागि उत्तम वातावरण प्रदान गर्दछ।
त्यसो भए भाँडा माझ्न स्पन्जको सट्टा ब्रस प्रयोग गर्नुपर्छ? धेरै प्रजातिका ब्याक्टेरियाहरू कसरी फस्टाउने भनेर जान्दछन्। केहीले पृथ्वीको क्रस्ट मुनि उम्लिरहेको हाइड्रोथर्मल भेन्टहरूमा फस्टाउँछन् भने अरूले चिसो ठाउँहरूमा फस्टाउने तरिकाहरू खोज्छन्।
तर यदि उनीहरूलाई कहाँ बस्न मन छ भनेर सोधियो भने भान्साको स्पन्ज उनीहरूको लागि सबैभन्दा राम्रो हुनेछ। प्लेट र सिसाका भाँडाकुँडा सफा गर्न स्पन्ज उपकरणको रूपमा प्रयोग गरिन्छ। स्पन्जहरू ब्याक्टेरियाका लागि आश्रयस्थल हुन्। यसले ब्याक्टेरियाको लागि पौष्टिक खानाका टुक्राहरू छोड्छ।
जर्मनीको फर्टवाङ्गेन विश्वविद्यालयका सूक्ष्मजीवविद् मार्कस एगर्ट्सले भान्साको स्पन्जमा ब्याक्टेरियाको बारेमा नयाँ तथ्याङ्क प्रकाशित गरे। उनले स्पन्जमा ३६२ प्रजातिका ब्याक्टेरिया पत्ता लगाए।
केही ठाउँहरूमा ब्याक्टेरियाको घनत्व प्रति वर्ग सेन्टिमिटर ५४ अर्ब पुगेको थियो। "यो धेरै ठूलो संख्या हो," एगर्ट्सले भने। "यो मानव दिसामा पाइने ब्याक्टेरियाको मात्रा जत्तिकै हो।"
स्पन्जहरू प्वालहरूले भरिएका हुन्छन्, जसमध्ये प्रत्येकले ब्याक्टेरियाको लागि बासस्थान प्रदान गर्दछ। ड्यूक विश्वविद्यालयका सिंथेटिक जीवविज्ञानी लिंगचोङ यु र उनको टोलीले २०२२ मा स्पन्जको जटिल वातावरणको मोडेल बनाउन कम्प्युटर प्रयोग गरे।
उनीहरूले पत्ता लगाए कि प्वाल र खल्ती भएका स्पन्जहरूले सूक्ष्मजीवहरूको वृद्धिलाई बढावा दिन्छन्। उनको टोलीले स्पन्जमा ब्याक्टेरियाका विभिन्न प्रकारहरू प्रयोग गरेर यी नतिजाहरू दोहोर्यायो।
"ब्याक्टेरियाको वृद्धिको लागि भान्साको स्पन्जमा भएका छिद्रहरूको आकारले महत्व राख्छ," एगर्ट्स भन्छन्। "केही ब्याक्टेरियाहरू आफैं बढ्छन्, जबकि अरूलाई बढ्नको लागि वातावरण चाहिन्छ। तर स्पन्जहरू भित्र सबै ब्याक्टेरियाहरूको लागि उपयुक्त संरचनाहरू हुन्छन्।"
स्पन्जले ब्याक्टेरियाको लागि राम्रो घर प्रदान गर्छ भन्ने देखिन्छ। यद्यपि, यी भाँडाकुँडाहरूले हाम्रो स्वास्थ्यलाई खतरामा पार्नु आवश्यक छैन। ब्याक्टेरिया जताततै हुन्छ, चाहे त्यो हाम्रो छाला होस् वा हाम्रो वरपरको माटो। सबै हानिकारक हुँदैनन्। कतिपयको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।
प्रश्न यो छ कि हामीले स्पन्जमा हुने ब्याक्टेरियाको बारेमा चिन्ता लिनु पर्छ कि पर्दैन? आफ्नो २०१७ को अध्ययनमा, एगर्ट्सले ब्याक्टेरियाका सामान्य प्रजातिहरूको डीएनए अनुक्रमित गरे। यद्यपि, ब्याक्टेरियाको हरेक प्रजाति पत्ता लगाउन सम्भव छैन। यस अध्ययनमा, १० मध्ये पाँच प्रजातिका ब्याक्टेरियाहरू फेला परेका थिए जसले मानिसमा संक्रमण फैलाउन सक्छन्।
तातो पानी प्रयोग गर्ने जस्ता अन्य विधिहरूले केही ब्याक्टेरियाहरूलाई मार्न सक्छन्, तर केही ब्याक्टेरियाहरू बाँच्न सक्छन् र व्यवहार्य स्ट्रेनहरू बनाउन सक्छन्। "हामी विश्वास गर्छौं कि सफाईको लागि फरक छनोट प्रक्रिया हुन सक्छ, जहाँ केही जीवित ब्याक्टेरियाहरू ठूलो संख्यामा बढ्न सक्छन्। ब्याक्टेरियाको पहिचानले त्यसपछि सफाई विधि छनौट गर्न मद्दत गर्न सक्छ," एगर्ट्सले भने।
एगर्ट्सको रिपोर्टमा पाइने ब्याक्टेरियाले खाना विषाक्तता वा कुनै गम्भीर रोग निम्त्याउँदैन भन्ने कुरा पनि जान्नु महत्त्वपूर्ण छ। खानाबाट हुने ९० प्रतिशत रोगका लागि पाँच किटाणु जिम्मेवार छन्, जसमध्ये तीन ब्याक्टेरिया हुन्: क्याम्पिलोब्याक्टर, साल्मोनेला र ई. कोलाई। स्पन्जमा यी तीन ब्याक्टेरिया भेटिनु दुर्लभ छ।
"हामीले त्यस्ता ब्याक्टेरिया फेला पार्यौं जुन कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू, जस्तै वृद्ध वा बालबालिकाहरूका लागि हानिकारक हुन सक्छन्," एगर्ट्स भन्छन्। "स्वस्थ मानिसहरूका लागि, स्पन्जमा पाइने ब्याक्टेरिया हानिकारक हुँदैनन्।"
ए एन्ड एम विश्वविद्यालयकी खाद्य सुरक्षाकी प्राध्यापक जेनिफर कुनलान र उनका सहकर्मीहरूले फिलाडेल्फियाका १०० घरहरूबाट स्पन्जहरू सङ्कलन गरे। ती मध्ये एक वा दुई प्रतिशतमा मात्र मानिसमा खाद्य विषाक्तता निम्त्याउन सक्ने ब्याक्टेरिया पाइयो। यद्यपि, तिनीहरूमा ब्याक्टेरियाको मात्रा पनि धेरै कम थियो।
नर्वेको खाद्य अनुसन्धान संस्थान नोफिमाका वैज्ञानिक सोल्भेग लाङ्सरुडद्वारा २०२२ मा प्रकाशित एक अध्ययनले पनि यसलाई समर्थन गर्दछ। उनको अध्ययनले स्पन्जमा हानिकारक नभएका ब्याक्टेरिया पनि फेला पारेको छ।
यद्यपि, ब्रसहरूमा स्पन्जको तुलनामा धेरै कम ब्याक्टेरिया हुन्छन्।
"स्पन्जमा भएका धेरैजसो ब्याक्टेरिया हानिरहित हुन्छन्," कुनलानले भने। "तिनीहरूले समयसँगै तपाईंलाई मन नपर्ने गन्ध मात्र निम्त्याउँछन्।" "भाँडामा टाँसिएको काँचो मासु सफा गर्न स्पन्ज प्रयोग गर्नुभयो भने, स्पन्जमा हानिकारक ब्याक्टेरिया रहन सक्ने जोखिम हुन्छ।"
स्पन्जमा ब्याक्टेरिया हुन्छ जुन तपाईंलाई हानि नगर्ने तरिकाले बढ्छ। तर यदि साल्मोनेला ब्याक्टेरिया तपाईंको स्पन्जमा पुग्यो भने, हानिकारक ब्याक्टेरियाले बढ्नको लागि थप ठाउँ पाउनेछ।
यसको प्रमाण पनि छ। ल्याङ्ग्सरुडको अध्ययनले पत्ता लगायो कि जब साल्मोनेला ब्याक्टेरिया स्पन्जमा पुग्यो, तिनीहरू बढे, जबकि ब्रशले सफा गर्दा यी ब्याक्टेरियाहरू हटाइए। यो किनभने ब्रसमा ओस हुँदैन र यो साल्मोनेला हटाउन प्रभावकारी साबित हुन्छ। तर स्पन्जहरूसँग यस्तो हुँदैन।
यी हानिकारक ब्याक्टेरिया स्पन्जबाट तपाईंको भाँडाकुँडामा पुग्न सक्छन्। त्यसो भए के हामीले स्पन्ज परिवर्तन गरिरहनुपर्छ? यसको जवाफमा कुणालनले भने कि तपाईंले हप्तामा एक पटक आफ्नो स्पन्ज परिवर्तन गर्नुपर्छ र यसलाई बानी बनाउनु पर्छ।
"यिनीहरूलाई सफा गर्ने दुईवटा सजिलो तरिकाहरू छन्," कुनालनले भने। "तपाईंले तिनीहरूलाई साँझ प्रयोग गरेपछि डिशवाशरमा राख्न सक्नुहुन्छ, वा तपाईं तिनीहरूलाई केही मिनेटको लागि माइक्रोवेभमा राख्न सक्नुहुन्छ, जसले सबै ओसिलोपन हटाउँछ र धेरैजसो हानिकारक ब्याक्टेरियाहरू मार्छ।"
अध्ययनहरूले देखाएको छ कि यसलाई डिशवाशर वा माइक्रोवेभमा राख्नाले ब्याक्टेरियाको संख्या कम हुन्छ। तर एगर्ट्सको अध्ययनले यसको वकालत गर्दैन। तिनीहरू विश्वास गर्छन् कि केही समय पछि ब्याक्टेरियाले त्यस्तो स्ट्रेन विकास गर्नेछ जुन यसमा बाँच्न सक्छ।
तातो पानीमा स्पन्ज भिजाउँदा धेरैजसो हानिकारक ब्याक्टेरिया मर्छन् भने केही बाँकी रहन्छन्। तर यस विधि प्रयोग गरेर हानिकारक साल्मोनेला ब्याक्टेरिया मारिएका उदाहरणहरू छन्। अर्को तरिका यो हुन सक्छ कि तपाईंले स्पन्जलाई सिङ्क भित्र नराख्नुहोस्। सिङ्कबाट बाहिर राख्दा, स्पन्जले आफ्नो ओसिलोपन गुमाउनेछ र ब्याक्टेरियाले बढ्ने वातावरण पाउनेछैन।
तर कतिपयको विश्वास छ कि भाँडाकुँडा सफा गर्न अन्य उपकरणहरू प्रयोग गरिनेछ। "म कहिल्यै भान्साको स्पन्ज प्रयोग गर्दिन," एगर्ट्स भन्छन्। "यसलाई प्रयोग गर्नुको कुनै अर्थ छैन। यो त्यस्तो चीज हो जुन भान्सामा हुनु हुँदैन। ब्रश राम्रो हुन्छ किनभने यसले कम ब्याक्टेरिया बोक्छ र सफा गर्न धेरै सजिलो हुन्छ।"