सोमबार, पुस ७, २०८२

बरेङमा बसाइँसराइले बस्ती सुनसान

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

बागलुङ- पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ। हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन्। 

National life

बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन्। गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन्। चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।
 
साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन्। यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ। दुई वर्षको अवधिमा ४० परिवारका एक सय ३१ जना बसाइँसरेर बरेङमा आएका छन्। 

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय सेवा प्रवाहमा लागेको बताए। पालिकाका सबै वडा र बस्तीमा सडक पुर्याउनका साथै खानेपानी, विद्युत् र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउछन्। 

एकीकृत बस्ती बसालेर नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न थाले पनि सफल बन्न नसकेको उनले बताए। युवालाई लघुउद्यम तथा घरेलु उद्योगमार्फत स्वरोजगार बनाउने गरी काम गरे पनि बसाइँसराइ नरोकिएको अध्यक्ष शर्मा बताउछन्।

“बसाइँसराइ रोक्नका लागि हामीहरूले धेरै प्रयास गर्यौँ, बस्ती–बस्तीसम्म सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याएका छौँ, युवालाई रोजगारसँग जोड्ने काम पनि भएको छ”, उनले भने, “एकीकृत बस्ती बसालौँ भनेको कसैले मानेनन्, तर गाउँ छाडेर गए, बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोल नै खाली छ, बसाइँसराइ रोक्नका लागि हामी लागिरहेका छौँ।”

Laxmi sunrise bank
kumari

बरेङबाट धेरैजसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेर जाने गरेको अध्यक्ष शर्माको भनाइ छ। 

प्रकाशित: Feb 23, 2025| 07:30 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्