आइतबार, जेठ ३१, २०८३

राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

सुर्खेत- मुगुको छायानाथ रारा नगरपालिका–११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहेका छन्। राडीपाखी बेचेर घरखर्च टार्दै आएको उनले टेलिफोनमा बताए।

National life

उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन्। कृषिकर्मबाट मात्र हातमुख जोर्न नपुगेपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो। भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन्।

स्थानीय बजारमा कम्बल र पाखी तीन हजारदेखि तीन हजार ५०० र फेरुवाको चार हजारमा बिक्री हुन्छ। सिजनमा राडीपाखीबाट रु २० हजारसम्म कमाइ हुने उनको भनाइ छ। भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ।

नगरपालिकाको रोबार्‍याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकांश परिवारको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन्। गाउँका महिलाले राडीपाखा बुन्छन्। पिना, मुन्दु, कोटिला गाउँका अधिकांश स्थानीय राडीपाखी बुनाइमा लागेको वर्षौं भइसक्यो। नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ।

एउटा फेरुवा र कम्बल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ। राडीपाखी बेच्न गमगढी, नेपालगञ्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए। अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ। घरमा ४० देखि ५० वटा भेडा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने उनले बताए।

Shivam cement

भेडाको ऊनबाट गलैँचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। जिल्लामा पाँच हजार ५०० मा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बेचिने गरेको छ। रासस

प्रकाशित: Feb 21, 2025| 16:31 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्