चितवन- चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ। निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो।
घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुईवटा, कसरामा दुईवटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ।
चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो। उनका अनुसार रु १० लाखको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ। यसवर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रुपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि रु २१ लाख खर्च गर्ने गरी काम भइरहेको उनले बताए।
निकुञ्जको नियमित बजेटबाट रु ६ लाख र ताल कार्यक्रमको रु १५ लाख बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो। विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरुले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ।
थप दुईवटा पोखरी नयाँ निर्माण गरिएको उनले जानकारी दिए। उनले भने, ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ। हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ।’