शनिबार, पुस ५, २०८२

तनहुँका किसानलाई सुन्तला बिक्री गर्न सकस

 |  आइतबार, माघ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ। सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन्।

National life

देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ। तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ। लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन्। देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ। देवघाट–३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पुर्‍याउन सकस भएको देवघाट–३ बाटकका हर्कबहादुर थापाले बताए।

'यस वर्ष वडा नं ३ मा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्', उनले भने।

लुङग्रिङमा एउटै परिवारले २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिए। लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन्। छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौं बिक्री गर्न लैजाने गरेका छन्।

नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ। पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ। दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताए। पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौंसम्म पुग्ने गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2025| 10:01 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्