युवाहरूमा समेत अहिले ढाड दुखाइको समस्या बढ्न थालेको छ। तर, तत्कालै समस्या देखिनेभन्दा ढाड दुखाइको पृष्ठभूमि पहिले नै तयार भइरहेको हुन्छ। आधुनिक युगमा उपलब्ध सहरी सुविधाका कारण धेरैजसो कम्प्युटरमा लामो समय काम गर्छौं। बसेर लगातार टीभी हेर्ने गर्छौं।
लामो समयसम्म एकै ठाउँमा बस्दा ढाडको मांसपेशीको रक्त सञ्चालन राम्रोसँग हुँदैन। मोटरसाइकल, ल्यापटप वा मोबाइल धेरै चलाउने व्यक्तिको घाँटी अगाडि तन्किन्छ।
कहिलेकाहीं एउटै स्थितिमा रहँदा–बस्दा पनि ढाड दुखेजस्तो हुन्छ। तर केही छिनमा ठीक भएपछि वास्ता गर्न छाडिन्छ। यसरी हलचल नगरेर बस्दा ढाडका मांसपेशी बिस्तारै कमजोर भएर शक्ति क्षीण बन्दै जान्छन्। यसरी शक्ति क्षीण भएका बेला कुनै झट्का लाग्यो, केही उचाल्यो भने बेस्सरी दुख्छ।
कहिलेकाहीं पिसाब थैली, नली वा मिर्गौलाको सङ्क्रमण हुँदा पनि ढाड दुख्ने समस्या हुन्छ। तर पिसाबमा संक्रमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाकी लाग्ने पनि हुन्छ।
कसैलाई मानसिक तनाव परेका बेलामा पनि ढाड दुख्न सक्छ। अस्थिरोग विज्ञको भनाइअनुसार ८० प्रतिशत ढाड दुखाइको समस्या त्यति जटिल हुँदैन। विज्ञहरूका अनुसार नेपालमा ढाड दुख्ने समस्या भएका व्यक्तिको संख्या बढेको छ। डाक्टरकहाँ आउने बिरामीमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरुरत पर्दैन, आराम र औषधिले ठीक हुन्छ।
केवल १० प्रतिशतलाई मात्र शल्यक्रियाको जरुरत पर्न सक्छ। अमेरिकामा शल्यक्रिया गरेका व्यक्तिमध्ये २० प्रतिशतलाई खास कुनै फाइदा नभएको देखिएको छ।
ढाड दुख्ने मुख्य कारणमा नराम्रो तरिकाको बसाइ, बढी मोटोपन र अहिलेको व्यस्त जीवन, कसरतको अभाव मुख्य हुन्। ढाड दुख्नुको मतलब ढाडका मांसपेशीका तन्तु कमजोर हुनु हो। महत्त्वपूर्ण त ती तन्तुलाई आराम दिनुपर्छ। तर पूर्णरूपमा सुतिरहनु पर्दैन। ढाड दुख्नेबित्तिकै एक्सरे गरिहाल्नु पर्दैन। केही दिन आराम गरेर औषधि खाँदा पनि दुखाइ कम भएन भने मात्र एक्सरे र अन्य जाँच गर्नुपर्ने अवस्था आउँछ।
पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाडसँगै पिँडुला दुख्यो भने, पिसाब फेर्न कठिनाइ पर्यो भने, लगातार सुत्दाखेरि दुखाइ झन् बढ्यो भने विज्ञहरूको सल्लाह तुरुन्त लिइहाल्नुपर्छ।
स्त्रीरोगका कारण पनि ढाड दुख्ने समस्या हुन सक्छ कि भनेर मैले डा. मीरा ओझासँग पनि केही समयअघि कुराकानी गरेकी थिएँ। उहाँको भनाइअनुसार महिलाहरूलाई ढाड दुख्ने समस्या विभिन्न कारणले हुन सक्छ। पाठेघरको संक्रमण, पाठेघरको मुखमा घाउ हुँदाबाहेक महिनावारी हुँदा कसैकसैमा ढाड दुख्ने गर्छ।
पाठेघरआफ्नो स्थानबाट खस्दा पनि ढाड दुख्छ। त्यस्तै महिनावारी हुँदा प्रयोग गरिने कपडा सफा नभएर प्रजनन अङ्गमा संक्रमण हुँदा, मूत्रनलीको संक्रमण हुँदा पनि ढाड दुख्न सक्छ।
मैले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा कम्प्युटरमा लगातार २–३ घण्टा टाँसिएर नबस्नु भन्ने सिकेकाले त्यसलाई प्रयोग गरेकी छु। ढाडको दुखाइ गम्भीर प्रकृतिको छैन भने आराम गर्नाले दुखाइ आफैं कम हुन्छ। विज्ञहरूले ढाड दुखेको ठाउँमा पहिलो २४ घण्टा चिसोले र पछि तातो पानीले सेक्ने सल्लाह दिन्छन्
नेपालमा महिलालाई मोटोपनका कारण ढाड र घुँडा दुख्ने समस्या बढेको हुन सक्छ। पछिल्लो तथ्यांकअनुसार ३५ प्रतिशत नेपाली महिला मोटा छन्। स्वस्थ भोजन, जीवनशैली, हिँडाइले तौल ठीक राख्न र मानसिक तनाव कम गर्न मद्दत गर्छ। तौल घटाउँदा र ढाडमा समस्या नपरोस् भनेर योगका केही आसन गर्दा समस्या न्यूनीकरण गर्न सक्छ। मांसपेशीलाई लचिलो बनाई रक्त सञ्चालन राम्रो बनाएपछि ढाडका मांसपेशी चाँडै थाक्दैनन्।
मार्जरी आसन, ताडासन, बालाआसन, उत्तनापाद आसन, हस्त पादासन र सूर्य नमस्कारलाई आफूमा दैनिक लागू गर्नुपर्छ। त्यसैले हरेक दिन २०–३० मिनेट हिँड्ने र ८–१० घण्टा मेचमा बसेर काम गर्नेले हरेक एक–दुई घण्टामा मेचबाट उठेर हिँडडुल गर्नुपर्छ। यसले गर्दा ढाडको मांसपेशीको रक्तसञ्चालनमा अवरोध भएर मांसपेशी थाक्ने प्रक्रिया कम हुन्छ।
पिसाबको संक्रमणका कारण ढाड दुखेको हो भन्ने विभिन्न किसिमका अन्य लक्षण पनि हुन्छन्। यस्तो बेला तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ।