शनिबार, कात्तिक २९, २०८२

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रूपैयाँको कृषि बाली भारत निर्यात भएको छ।

National life

आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ। उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजार रूपैयाँको कृषि बाली आयात भएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाख रूपैयाँको चिया, एक अर्ब ५५ करोड रूपैयाँको अलैँची, एक अर्ब पाँच करोड रूपैयाँको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो २० करोड ५५ लाखको अदुवा, छ करोड ४८ लाखको बन्दाकोभी, एक करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र ११ करोड ५३ लाख रूपैयाँको अन्य कृषि बाली भारत निर्यात भएको छ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन्।

चार महिनामा २२ करोड ३१ लाख रूपैयाँको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल, ११ करोड सात लाखको लसुन, छ करोड ४४ लाखको कोदो, पाँच करोड ३४ लाखको सागसाब्जी र पाँच करोड दुई लाख रूपैयाँको अन्य कृषि बाली आयात भएको छ।

Laxmi sunrise bank
kumari

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने उनी बताउँछन्। पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ।

पहाडी जिल्लाबाट कच्चा पदार्थ संकलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन्। यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन। रासस

प्रकाशित: Nov 26, 2024| 19:31 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्