बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • शुक्लाफाँटामा ७ करोड ४४ लाख रुपैयाँ खर्चेर चक्रपथ निर्माण गरिँदै

शुक्लाफाँटामा ७ करोड ४४ लाख रुपैयाँ खर्चेर चक्रपथ निर्माण गरिँदै

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण  अगाडि बढाइएको छ। नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो।

National life

नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत ७ करोड ४४ लाख ४९ हजार ६ सय ३२ रुपैयाँको लागतमा सडक निर्माण  गरिन लागेको छ।

सडक निर्माणका लागिे सडक निर्माण कम्पनीले जिम्मा पाएको छ। ठेक्का सम्झौता भएको चार महिना पछि सडक निर्माण अगाडि बढाइएको छ।

सडक निर्माणका लागि विसं २०८१ असार १६ गते सम्झौता भएको थियो। तत्काल सडक निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ५० लाख र नगरपालिकाको एक करोड ५० गरी तीन करोड बजेट परिचालन गरिएको छ।

सडकमा भएका संरचना हटाउने, माटो भरान गर्ने, चौडा गर्ने, कल्भर्ट निर्माण गर्ने, होमपाइप राख्ने, ग्याबिन जाली राख्ने कार्यसँगै कालोपत्रेको कार्य गरिने शाखा प्रमुख धामीले बताए। उनले भने 'पहिलो चरणमा वडा नं १२ को कालागौंडीदेखि वडा नं ३ को जोनापुरसम्मको ५ दशमलव ९ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रेको कार्य गर्ने गरी ठेक्का सम्झौता भएको छ।'

Laxmi sunrise bank
kumari

सडकको क्षेत्राधिकार २० मिटर रहेको छ। अहिले नौ मिटर चौडाइको सडकमा ग्राभेलिङ गरिने छ भने सात मिटर चौडाइको सडकमा कालोपत्रे गरिने छ। सडकखण्डको वडा नं १ को खजुवापट्टि र वडा नं ३ को जोनापुर क्षेत्रमा तीन हजार एक सय ९० घनमिटरको ग्याबिन जाली राख्ने कार्य हुनेछ। 

प्रिमिक्स कार्पेट विधिबाट सडक कालोपत्रेको कार्य हुने शाखा प्रमुख धामीको भनाइ रहेको छ। यसअनुसार कालोपत्रे सडकको मोटाइ दुई सेन्टिमिटर हुनेछ। क्रेसरको ग्राभेल १० देखि १५ सेन्टिमिटर र सोही अनुपातमा सामान्य खाले ग्राभेल राख्ने कार्य हुने छ। पहिलो चरणको सडक कालोपत्रे गर्ने कार्य विसं २०८२ असोज १६ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। 

चक्रपथ सडकको कूल लम्बाइ करिब ४४ किलोमिटर बढी रहेको छ। यसमध्ये हाल वडा नं १२ को कालागौंडीदेखि वडा नं ६ र ७ को सीमासम्मको १४ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अद्यावधिक गरिएको छ।

चक्रपथ सडक निर्माणका लागि डीपीआर निर्माण गर्ने कार्य विसं २०७६ मा भएको थियो। डीपीआर बनेको लामो समयपछि सडक कालोपत्र गर्ने कार्यले गति लिएको छ। रासस

प्रकाशित: Nov 11, 2024| 20:31 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्