शनिबार, पुस ५, २०८२

नेपालगञ्जमा घट्यो तरकारी र फलफूलको विषादी

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

बाँके- नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ। चालु आर्थिक वर्षको तीन महिनामा तीन सय ५३ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना जाँच गर्दा विषादीको अवशेष फेला नपरेको कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ।

National life

'यो वर्ष हालसम्म कुनैपनि तरकारी र फलफूलको नमूनामा विषादीको अवशेष फेला परेको छैन', विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जका नायब प्राविधिक सहायक गौरव चौधरीले भने, 'करिब चारसय नमूना परीक्षण गर्दा विषादीको अवशेष फेला नपर्नु सकारात्मक पक्ष हो।'

प्रयोगशालामा नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार केन्द्र र सहरका विभिन्न स्थानमा बिक्रीका लागि राखिएका फलफूल पसलबाट नमूना संकलन गरेर विषादी परीक्षण गरिएको चौधरीले बताए। उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमूनामा विषादीको अवशेष फेला परेको थियो। 

'गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात वटामा कैफियत पाएका थियौँ', चौधरीले भने, 'तीन नमूना पहेँलोे र चार नमूनामा रातो संकेत पाइएको थियो।' रातो संकेत भएका वस्तु उपभोग गर्न नमिल्ने भन्दै पहेँलो संकेत भएकालाई पुनःपरीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले जानकारी दिए।

तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई हरियो संकेत भनिने र उक्त वस्तु उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा पहेँलो संकेत गरी त्यसलाई पाँच दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने चौधरीले जानकारी दिए। उनका अनुसार ४५ प्रतिशत भन्दामाथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न मिल्दैन।

Laxmi sunrise bank
kumari

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तथा भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच गर्ने गरिएको छ। एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमूनाको नतिजा आउने चौधरीको भनाइ छ। उनका अनुसार संकलित वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई प्रकारका विषादी समूहको परीक्षण हुन्छ। विसं २०७९ देखि नेपालगञ्जमा तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमूना परीक्षण सुरु गरिएको थियो। 

गत आवमा रानीतलाउस्थित तरकारी बजारमा राखिएका रायोको सागमा विषादी परीक्षण गर्दा ४५ प्रतिशतभन्दा बढी विषादी पाइएको थियो। भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानीतलाउमा पुनःपरीक्षण गर्ने गरिएको बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए। उनका अनुसार सार्वजनिक बिदाका दिनमा बाहेक प्रायः दैनिकरूपमा यहाँ परीक्षण हुने गरेको छ।

नमूना परीक्षणका क्रममा जिल्लामा उत्पादित वस्तुमा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरिएको थापाले बताए। बेमौसमी तरकारीमा किसानले विषादीको बढी प्रयोग गर्ने गरेकाले उत्पादित वस्तुमा विषादी पाइने गरेको उनको भनाइ छ।    -रासस

प्रकाशित: Nov 11, 2024| 06:01 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्