बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चाडपर्वले चलायमान बन्यो मधेशको अर्थतन्त्र

 |  बिहीबार, कात्तिक १५, २०८१
nespernesper

अजयकुमार साह

अजयकुमार साह

बिहीबार, कात्तिक १५, २०८१

ntc landingntc landing

जनकपुरधाम- जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन्। उद्योगी–व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरूसहित ग्राहकलाई लोभ्याउने गर्दा पनि खर्च गर्ने क्रम अन्य समयको तुलनामा बढी नै हुने गरेको उनको भनाइ छ। 

himalayan bank box

साउने सङ्क्रान्तिपछि विस्तारै चाडपर्व सुरु हुन थालेसँगै बजार चलायमान हुने गर्छ। मधेश प्रदेशको राजधानी जनकपुधामलगायत देशका मुख्य सहरका पार्टी प्यालेसले पनि यस अवधिमा राम्रै आम्दानी गर्ने गर्छन्। यतिबेला किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेयपदार्थ, मोबाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरूमा किनमेल गर्नेहरूको भिड अत्यधिक देखिएको छ। वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ।

दसैँ, दीपावली र छठ पर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन्। फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तालाई दसैँ, तिहारको बेला दिने छुट नै पर्खेर बस्ने बानी लागिसकेको उनको भनाइ छ। अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, सञ्चार सेवाप्रदायक तथा होटल रेस्टुरेन्टले दसैँदेखि छठसम्म छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा किनमेलको चाप बढ्दो छ। 

अर्थविद्हरूका अनुसार दसैँ, तिहारअघिका दुई-तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ। दसैँ-तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरे बताउँछन्। 'कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता विकसित भएको देखिन्छ,' उनी भन्छन्।

रोजगारी वा अध्ययनका लागि नेपालबाहिर रहेका व्यक्तिहरू पनि दसैँ, तिहार र छठ पर्व मनाउन आ–आफ्नो गाउँघर आउने गर्दछन्। सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ। सरकारले दसैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य संघसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने हुँदा बजारमा पैसा लेनदेन हुने भएकाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अर्थशास्त्री डा. सुरेन्द्र लाभको भनाइ छ। 

vianet

दसैँ, तिहार र छठ पर्वसम्म बजारमा करिब पाँच अर्बको कारोबार हुने डा. लाभ बताउँछन्। मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरीलगायत करिब पाँच लाख सरकारी कर्मचारी छन्। प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रुपैयाँ हुन्छ। एक महिनाको तलब बराबर दसैँ खर्च पाइन्छ। त्यसैगरी, करिब सवा नौ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन्। ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रुपैयाँका दरले हिसाब गर्दा एकमुष्ट ४८ अर्ब रुपैयाँ हुन्छ। उनीहरूले तलबका अतिरिक्त दसैँ भत्ता मात्रै करिब ६६ अर्ब रुपैयाँ पाउँछन्।

यसबाहेक व्यापार-व्यवसाय, खेतीपाती गर्नेले पनि दसैँमा राम्रै खर्च गर्छन्। वैदेशिक रोजगारीमा गएकाले दसैँ, तिहार र छठ पर्व मनाउन घरमा पैसा पठाउने गर्छन्। विदेश बस्ने नेपालीले यही समयमा बढी विप्रेषण पठाउने गरेका छन्। अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम विप्रेषण आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन र भदौमा विप्रेषणमार्फत दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको हो। औसतमा दसैँताका मात्र करिब १०-१५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौँको संख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।

दसैँले बजारमा चहलपहल बढाएको नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष पवन ठाकुरले बताए। उनले भने, 'शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन चाडपर्वले टेवा पुगेको छ। दसैँमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।' यी चाडपर्वको समयमा धेरै मानिस शहरी क्षेत्रबाट आफ्नो जन्मस्थल ग्रामीण क्षेत्रमा पुग्ने हुँदा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि सघाएको छ । जनकपुरधामलगायत विभिन्न ठाउँमा सस्तो बजारका नाममा विशेष बजार दसैँदेखि छठ पर्वसम्म सञ्चालन हुने गर्दछ। यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने गर्दछ।   -रासस

प्रकाशित: Oct 31, 2024| 16:01 बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्