मंगलबार, भदौ २, २०८३

चुलेसी, कचिया, खुर्पी बिक्री गरेर मासिक ५० हजार आम्दानी

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

इनरुवा- सुनसरी सदरमुकाम इनरुवा-२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ। उनले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन्। 

वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उनले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताए। 

उनले दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन्। उनले चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउँदै आएका छन्। 

उनले भने, 'फलामको सामग्री निर्माण गरेर मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दनी हुन्छ। रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ।'

उनीजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ। त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दनीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आएका स्थानीय सन्तोष शर्माको भनाइ छ।

लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ।

पुर्ख्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको उनले बताए। आधुनिकताको विकास भए पनि  सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन्। रासस

प्रकाशित: Oct 22, 2024| 17:31 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्