मंगलबार, भदौ २, २०८३

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

 |  सोमबार, कात्तिक ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघामा ताल बनाउने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन  प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए। 

सुस्ता-३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो।  ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए। तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए।

पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए।

तालमा माछापालनसमेत गरिने छ। लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए। ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ। 

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ। पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ। रासस

प्रकाशित: Oct 21, 2024| 18:01 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्