मंगलबार, जेठ १९, २०८३

चारवटा भैँसी भए गोठ बनाउन अनुदान पाइने

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

सुर्खेत- चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले गोठ निर्माण गर्न अनुदान पाउने भएका छन्।

National life

मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए।

बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन्। यो समस्या हल गर्न गाउँपालिकाले चारवटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिए। 

मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्याउने गाउँपालिकाले अपेक्षा लिएको छ। चारवटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताए।

बारेकोटमा पशुपालन बढी हुने गरेको छ। कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

Shivam cement

अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने सर्त छ। पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ। 

गाउँपालिकाले पशु चौपाया बिरामी भए उपचार गर्न १२ लाख विनियोजन गरेको छ। पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ। विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विशेष योजना बनाएको छ। गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो।

एक वडा, एक प्राविधिक कार्यक्रम लागू गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताए। जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो।

नलगाड नदी किनारमा यहाँ बस्ती छन्। नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ। वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन्। रासस

प्रकाशित: Oct 18, 2024| 18:01 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्