बिहीबार, चैत १२, २०८२

घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन्। घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो। 

National life

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिइन्।

'आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ', उनले भनिन्, 'चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन्।'

घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर-घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताइन्। सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ। 

समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ। 

Laxmi sunrise bank
kumari

हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो। समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ।

यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन्।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न सकिन्छ। घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्यावलोकन गर्न पुग्छन्। घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुुल, उल्लेरी भएर एकैदिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ। म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ। रासस

प्रकाशित: Oct 18, 2024| 20:01 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्