काठमाडौं- सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनीसँगै बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही असोज २६ गते साँझ काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय राम घाइते भएका थिए ।
सवारी चालक विष्टले घाइतेलाई काठमाडौं मेडिकल कलेज पुर्याएर फरार भएका थिए । घाइते रामको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ । रासस