शुक्रबार, चैत १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नागढुंगा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुंगा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

 |  बुधबार, असोज २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २३, २०८१

काठमाडौं- अहिले दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुंगा-नौबिसे सडकको सट्टामा सीतापाइला-धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।

National life

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला-धार्के सडक भएर जाने गरेको पाइएको छ।

नागढुंगा-नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

संघीय राजधानी काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्न सीतापाइला-धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन्। अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्यांक नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

नागढुंगा-नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ। नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौंतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ।

Laxmi sunrise bank
kumari

धार्के-सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला-रामकोट-भीमढुंगा-महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताए।

उनले भने, 'यो सडक २४ किमीको छ, सीतापाइला-रामकोट-भीमढुंगा-महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्नतिसहित चाँडै कालोपत्र गर्न सके नागढुंगा-नौबिसे सडकको जाम कम हुनेछ।'

नागढुंगा-नौबिसेको जाम छल्ने यो वैकल्किप सडक भएको स्थानीयवासी बताउँछन्। यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुंगासम्म हुने सवारी साधनको जाम कम हुने सहसचिव ढकालको भनाइ छ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको थियो। झन्डै १५ करोड खर्चिएर डीपीआर तयार गरिएको बताइएको छ। रासस

प्रकाशित: Oct 09, 2024| 16:01 बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्