बिहीबार, पुस ३, २०८२

६५ लाखमा किनेको गाडी महिना दिनमै दुर्घटनामा परेपछि...

 |  मंगलबार, असोज २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन। गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा पर्‍यो। 

National life

काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो। घटनास्थलमा कोलाहल मच्चियो। गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले। दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे। घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे। प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा  सघाएका थिए। घटनास्थलमै पुगेका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो। 

साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो। अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन। मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ। गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो। घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए। सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन्। 

तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन्। अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ। गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउँछन्। हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको अस्पतालमा उपचार भइरहेको छ। 

Laxmi sunrise bank
kumari

तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताए। उनले भने, “काठमाडौंबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ। हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन्। चालकले गाडीको गति बढाउनुभयो।”

उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए। उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताए। बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी काठमाडौंको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो। रासस

प्रकाशित: Oct 08, 2024| 06:33 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्