सोमबार, जेठ १८, २०८३

खुर्काेट-घुर्मी सडक एकतर्फी खुल्यो

 |  बिहीबार, असोज १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

काठमाडौं- मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट-घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ। केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो।

National life

राजमार्गमा दुवैतर्फबाट दुई-दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।

उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाँउपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्काेटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो।

दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए। खुर्काेट-घुर्मी खण्ड ६१ किलोमिटर लामो दुरीको छ।

राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ। सो खण्डमा यात्रामा रहनेले उच्च सर्तकता अपनाउनुपर्ने उपाध्यक्ष न्यौपानेले बताए।

Shivam cement

सयौँको सङ्ख्यामा यस खण्डमा स-साना पहिरो झरेका छन्। हाललाई सामान्य रुपमा पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ। यस खण्डअन्तर्गत सबै स्थानमा अहिले ठूला सवारीसाधन सहज रुपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको पिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए। साना तथा मझौला सवारीसाधन, एम्बुलेन्सलगायत दुई पाङ्ग्रे सवारीलाई कुनै समस्या नरहेको उनले जानकारी दिए।

उक्त राजमार्ग अवरुद्ध भएसँगै ओखलढुंगा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौँ तथा दसैँतिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारीसाधन गुड्दै आएका छन्।

राजमार्ग खुलाउने कार्यमा स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सडक कार्यालय र स्थानीय प्रशासनबाट आवश्यक सहयोग र समन्वय भएको पिक्कल गाउँपालिकाका उपाध्यक्ष बरालले बताए। रासस

प्रकाशित: Oct 03, 2024| 19:01 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्