सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हाम्रो चाडपर्व र सरकारी नीति

 |  सोमबार, भदौ १७, २०८१
nespernesper

अर्जुन पाण्डे

अर्जुन पाण्डे

सोमबार, भदौ १७, २०८१

श्री ३ जुद्ध शमशेरको सवारी हुँदै थियो रे टुँडीखेलमा। सवारी हेर्न मानिस जम्मा भएका थिए रे। एक जनाले सुकिलो दौरा सुरुवाल, ज्वारीकोट र जुत्ता समेत चिटिक्क परेर सवारी हेर्न आएछ। जुद्ध शमशेरको झट्टै आँखा परिहालेछ उसमाथि।

triton college

सबै मैला धैला लुगा लगाएका प्रजाहरुका भिडमा एउटा सुकिलो लुगा लगाएको देखेर एकाएक महाराजको पारो तात्यो। राजाले इशारा गरे। तत्काल आठपहरिया अघि बढे, उसलाई पक्डियो र लछारपछार गर्दै घोडा पिट्ने कोर्राले पिट्दै लगियो रे राजाको अगाडि यस्तो सुकिलो लुगा लगायो भनेर। प्रत्यक्षदर्शी मेरा हजुरबुवाले म सानै हुँदा यो घटना सुनाउनुभएको थियो। म छक्क परेथेँ।  

हाल जब जब नेपालीहरुको चाडबाड मनाउने, बिहेबारी गर्ने महिना आउँछ तब जिल्ला प्रशासनले सूचना जारी गर्छः तडक भडक नगर्नु, भड्किलो कार्यक्रम नगर्नु, फजुल खर्च नगर्नु, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्नु, होहल्ला नगर्नु, यदि यस्तो गरेको पाइएमा कानुन अनुसार कार्बाही गर्ने रे। यसपालि पनि तिजको माहौल सुरु हुनै लाग्दा यस्तो सूचना जारी भएको छ। यो एउटा औपचारिकता मात्र हो कि ? यसको मक्सद पनि क्यै छ ? अर्थात यो सूचनाको मूल अर्थ के हो ? कसरी बुझ्ने ?  

सबैभन्दा पहिलो त तडक भडक वा भड्किलो भनेको के हो ? तीजमा चेलीबेटीहरु रातो पहिरन लगाउने, एक ठाउँमा जम्मा हुने, सामूहिक खानपिन गर्ने, गीत गाउने, नाच्ने, रमाइलो गर्ने। यस्तै त हो। यहाँ तडक भडक के भयो त ? प्रशासन मात्र हैन एक थरी समाजशास्त्रीहरुको टाउको दुखाइ पनि कम छैन। लौ बर्बादै भैसक्यो, महिलाहरुले समाज भाँडिसके भन्ने रोइलो छ। अचम्म !

यो सरकारी पैसाको खर्च हैन, कुनै भ्रष्टाचार हैन, आफ्नै खल्तिबाट गरिएको खर्च हो। यहाँ राज्य दोहन गरेर करोडौं, अरबौं खानेहरु दुई करोडको गाडी चड्छन्। पाँच तारे होटलमा एकै रातमा लाखौं झ्वाम पार्छन्, पारिरहेछन्। त्यो चैं ठीक। चाडबाडका बेला आफ्नै खर्चले रमाइलो गर्न खोज्ने चाहिँ बेठीक ? के यहाँ चाड मान्न नपाइने ? कि यो देशमा आफ्नो कमाइ आफूलाई मन लागे जसरी खर्च गर्न पाइँदैन ? बरु खर्च गर्ने भए विदेश गएर गर्नु भन्ने हो ?

Metro Mart
vianet

अर्को, धेरै मानिस भेला हुन नपाइने भन्ने पनि त्यस्तै मजाक छ। जुलुसको नाममा दशौं हज्जार मानिस गाडीमा ओसारेर भेला हुन हुन्छ, जे जे मन लाग्यो जिन्दाबाद, मुर्दाबाद नारा लगाउन हुन्छ तर सय पचास महिला जम्मा भएर चाड मनाउँदा कानून उल्लंघन हुने। बिहेमा थोरै जन्ती हुनुपर्ने त्यस्तै उटपट्याङ नीति छ। एउटा बिहेमा बढीमा दुई पाँच सय जन्ती होलान्।

तिनका ब्यवस्थापन गर्ने आयोजकले हो, कुनै सरकारी बजेट खर्च गर्ने होइन। सरकारलाई टाउको दुख्ने किन ? सिंगै प्लेन भरिने जन्ती लिएर राज्य कोषको पैसाले विदेश शयर गर्ने महामहिम र मन्त्रीहरुका अगाडि सामान्य नागरिकले आफ्नो खर्चमा जीवनमा एक चोटी हुने विबाहमा आफ्ना इष्टमित्र बोलाउन नपाइने ? हैन, यहाँ पैसा हुनेलाई खर्च किन रोक लगाइन्छ हँ ? त्यसो त यस्तो कानूनी झमेलामा किन फस्ने भनेर देशका कतिपय धनाढ्यहरुका छोराछोरीको बिहे दुबइ, गोवा आदि ठाउँमा गरेका खबर पनि नआएका होइनन्। के त्यस्तो खर्च नेपालमा चैं गर्न नहुने ?

दुर्भाग्य नै भन्नुपर्छ यो देशमा पैसा कमाउनु र पैसा खर्च गर्नु दुवै अपराधजन्य कार्य हो भन्ने भाष्य तैयार भैरहेको छ। यसो हुनुको कारण हो देशमा ब्याप्त भ्रष्टाचार। धनको श्रोत केवल भ्रष्टाचार मात्र हो भन्ने बुझाइ हो। सबैलाई यसैमा होमा हो मिलाउन मज्जा लाग्छ। तर यो भाष्यले देशको धन पलायन भै बाहिर जान थालेको देखिँदैछ जसले नेपालको अर्थतन्त्रलाई ठूलो धक्का दिनेछ। जहाँ झ्याली पिटेर धनको खेदो गरिन्छ त्यहाँ धनको बास हुँदैन। यो स्वाभाविक छ।

तसर्थ राज्यको नीति भनेको जनताले धेरै कमाउन्, धेरै खर्च गरुन् भन्ने हुनुपर्छ। तब न अर्थतन्त्र चलायमान हुन्छ। कमाउन खोज्नेलाई पनि कमाउन नदिने, कमाएकालाई पनि खर्च गर्न रमाउन नदिने। यो प्रगतिशील सोच होइन। सामन्ती सोच हो। सुकिलो दौरा सुरुवाल लगाउनेलाई घोडा पिट्ने कोर्राले हान्ने उहिलेका राजा र आफ्नो रहरको चाड पर्व मनाउँन, रमाइलो गर्न खोज्ने जनतालाई कानूनी कोर्रा हान्ने अहिलेका राजा उस्तै उस्तै भएनन् र ?
 

प्रकाशित: Sep 02, 2024| 12:55 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्