शनिबार, जेठ १६, २०८३

मकै र कोदो खेतीको विकल्पमा किवी

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

म्याग्दी- किवी खेतीमा संलग्न हुन्थेनन् भने बेनी नगरपालिका-३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुन्थे।

National life

विसं २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेतीसम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो। 'दुई वर्ष मलेसिया र एक वर्ष बहराईनमा काम गरेर आएपछि आफन्तमार्फत बेलायत जाने भिसा पनि लागेको थियो,' उनले भने, 'बेलायतको राहदानी त्यागेर सुरु गरेको किवी खेतीले सफलता मिल्न थालेको छ। घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु।'

सचिन्द्रा कृषि तथा पशुपक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ। गत वर्ष प्रतिकिलो दुई सय ५० रूपैयाँका दरले दश क्विन्टल किवी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आम्दानी बढ्ने आशामा छन्। किवी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमतीबाहेक तीन जनालाई रोजगारी दिएका छन्। बाख्रापालन पनि सहायक पेसाको रुपमा रहेको छ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालयमार्फत प्राविधिक तालिम, नि:शुल्क र अनुदानमा किवीका बिरुवाका साथै सिँचाइका लागि ड्रम सहयोग गरेका छन्। बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यवसायिक किवी खेती गरेका छन्।

'हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौ,' उनले भने, 'किवी र सुन्तला खेती गरेका मध्ये धेरैजसो विदेशबाट फर्किएका युवाहरु छन्। व्यावसायिक कृषिमा आबद्ध गराएर युवाहरुलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौँ।'

Shivam cement

लछु पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्राएका थिए। अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किवी खेती विस्तार गरेका छन्।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताए। पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ।

अमिलो र गुलीयो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ। किवी चिनमा विकास भएको फलफूल हो। न्युजील्याडले किवीलाई प्रमुख फलफूल  बालीको मान्यता दिएको छ। सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एकसय छ। निजी नर्सरीबाट तीनसयसम्ममा बिक्री हुन्छ। 

प्रतिआठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ सम्म किवीका बिरुवा लगाउन सकिन्छ। फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो।

किवीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए। रासस

प्रकाशित: Aug 21, 2024| 19:31 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्