बुधबार, चैत २५, २०८२

बागलुङको ताराखोलामा आलु उत्पादनमा ह्रास

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

बलेवा- बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ। 

National life

गत वर्षको कात्तिकदेखि बैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताए। विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो।

बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ। कात्तिकमा लगाएर फागुन-चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन।

ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउँछन्। गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ। कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्यांक छ।

रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन्। खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए। ताराखोला-२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताए।

kumari

विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ। यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो। तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए।

घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन्। बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन्। कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ। तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो। 'असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन', पुन भन्छन्, 'व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ।'

केन्द्रको तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ। 

बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो। त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन। यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ।

जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ। त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए। रासस

प्रकाशित: Aug 20, 2024| 17:07 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्