काठमाडौं महानगरपालिकाले साना तथा मध्यम भोजनालय सुधारका लागि क्षमता विकास तालिम सञ्चालन गरेको छ।
स्वच्छ भान्छा महानगर स्वर्णिम योजना अन्तर्गत महानगरले स्वच्छ भान्सा उत्कृष्ट व्यापार भन्ने नाराका साथ यही भदौ ३ र ४ गते दुई दिने फुड सेफ्टी बुट क्याम्प सञ्चालन गरेको हो।
खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौं महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासको काम थालेको हो। ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्धन शिविर (फुड सेफ्टी बुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यवसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ।
यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि तालिम दिइएको हो। तालिममा करिब ३ सय जना व्यवसायी सहभागी छन्। यो समूहबाट ४ सय जनालाई तालिम दिने महानगरको लक्ष्य छ।
तालिममा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो तथा पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) का विषयमा प्रशिक्षण दिइएको छ।
यस क्रममा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ। यसैगरी तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा पनि कक्षा सञ्चालन हुनेछन्।
व्यवसायीहरुमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिने बताउँछिन् काठमाडौं महानगरपालिका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमकी विज्ञ सल्लाहकार जीवनप्रभा लामा। उनले भनिन्, 'नियमन गर्नुअघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो। तालिमपछि खाद्य सेवा प्रदान गर्ने व्यवसाय मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ। यसबाट हरेक उपभोक्ता, खानेकुरा खाएको स्थानबाट स्वच्छ खाना पाएको सुनिश्चित हुन सक्नेछन्।’
खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले स्वच्छ खाद्य सेवाका लागि पालना गर्नुपर्ने अनिवार्य आचरणलाई खाद्य निरीक्षकले निरीक्षण गर्ने बताए। 'अवस्थाका आधारमा प्रमाणीकरण र स्तरीकरण गरिएको व्यवसायमा स्क्यान कोड राखिनेछ।
कोही उपभोक्तालाई स्तरबमोजिमको सेवा नलागेमा वा चित्त नबुझेमा स्क्यानबाट फोटोसहित आफ्नो गुनासो पठाउन सक्नुहुनेछ। इमेलबाट गुनासो पठाउन र हटलाइनबाट गुनासो टिपाउन सक्नुहुनेछ। यसका आधारमा महानगरपालिकाले गलत क्रियाकलापको नियमन गर्नेछ,’ उनले भने। खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरणका लागि काठमाडौं महानगरपालिकाले खाद्य स्वच्छता निर्देशिका, सूचक र स्तरीकरण प्रणालीको मस्यौदा तयार पारेको छ।