शुक्रबार, साउन ३०, २०८२

परम्परागत बाली छाडेर व्यावसायिक कफीखेतीमा गुल्मीका किसान

 |  सोमबार, भदौ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१

vianetvianet

गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन्।

जिल्लाको मदाने गाउँपालिका-३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ। त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन्।

कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण किसानको रोजाइ मकै र कोदोभन्दा कफीखेतीमा परेको हो। प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले किसानलाई व्यावसायिक रुपमा कफीखेती गर्न प्रेरित गर्दै आएको छ। 

परियोजनाले किसानलाई कफीको उत्पादन गर्ने तरिका र त्यसको महत्व तथा फाइदाका बारेमा जानकारी गराउँदै कफीखेतीका लागि बिरुवा, मल, नेटजालीलगायत सामग्री उपलब्ध गराउन थालेपछि त्यहाँका किसानलाई कफीखेती गर्न थप सजिलो भएको छ। मकै, कोदोजस्ता परम्परागत खेती गर्दै आएका किसानका लागि कफीखेतीले थप आशा जगाएको छ।

परम्परागत खेतीबाट बाँदर, बँदेल, दुम्सी तथा चराचुरुंगीबाट खेती जोगाउन हैरानी खेप्दै आइरहेको अवस्थामा कफीखेती त्यहाँका किसानका लागि उपयुक्त खेती बनेको हो। 

Metro Mart

कफी खेतीका लागि सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन्। चार वर्षअघि गठन भएको उक्त समूहमार्फत सिर्सेनीका प्रत्येक घरधुरीमा व्यावसायिक रुपमा कफीखेती सुरु गरिएको छ। त्यहाँका प्रत्येक किसानको बारीमा ५० देखि दुई हजारसम्म कफीका बोट छन्। चार वर्षअघि रोपेका बोटले फल दिन सुरु गरिसकेको सिर्सेनी टोरेटाका किसान मेघलाल अर्यालले बताए।

अर्याल त्यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने किसान हुन्। अर्यालको बारीमा यतिबेला दुई हजारभन्दा बढी कफीका बोट छन्। लगाएका बोटमध्ये कतिपय कफीका बोटले आम्दानी दिन सुरु गरेको उनले बताए।

'विगतमा मकै र कोदो रोप्दै आएका बारी अहिले सबै कफीले ढपक्क ढाकेको छ', उनले भने, 'दश रोपनी जग्गामा सबैै कफी लगाएको छु, मैले कफी लगाएपछि अरू किसानलाई पनि उत्प्रेरणा जागेको छ।' अर्याल जस्तै अर्का कफी कृषक शशिधर अर्यालले पनि अन्य खेतीको तुलनामा कफीखेतीले किसानमा नयाँ आशा जगाएको बताए।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाका प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक रुपमा कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट किसानलाई बिरुवा, मल, सिँचाइ, छहारी व्यवस्थापन, नेटजालीलगायत सामग्रीका लागि अनुदान उपलब्ध गराउँदै आएको बताइन्। किसानलाई कफी पाठशालामार्फत समय-समयमा प्राविधिक ज्ञान उपलब्ध गराउने गरेको पोख्रेलले जानकारी दिइन्।

जिल्लामा कफीखेतीमा किसानको आकर्षण बढे पनि समय-समयमा कफीमा देखिने गरेको सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटमा क्षति पुग्ने गरेको किसानको गुनासो छ। कफी उत्पत्तिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ।

जिल्लामा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तहलगायत कार्यालयले कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन्। रासस

प्रकाशित: Aug 19, 2024| 22:01 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्