काठमाडौं- हालै सरकारबाट बाहिरिएको नेकपा माओवादीभित्र आन्तरिक किचलो बढेको छ। पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीचको असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त भएको छ।
पार्टी विभाजनको आरोप खेपिरहेका शर्माले शनिबार सार्वजनिक मञ्चबाटै प्रचण्डप्रति गुनासो पोखेका छन्। प्रचण्डले पनि फरक मतको सम्मान गर्ने तर सधैं अत्याचार गरेको भनेर आफूमाथि आरोप लगाइरहन जरुरी नभएको जवाफ दिएका छन्।
शनिबार नेकपा माओवादी केन्द्र काठमाडौं–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष र उपमहासचिवबीच मञ्चबाटै सवाल–जवाफ भएको हो।
उपमहासचिव शर्माले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरे। उनले आफूले अन्य दलहरुसँग सहकार्यका क्रममा सहयोगी भूमिका निभाएको र अहिले तीनै दलमा जान लागेको भनेर पार्टीभित्रैबाट आरोप आइरहेको गुनासो गरे। उनले भने, ‘एमालेसँग एकता गर भन्नुभयो, केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला ? हुन पाउनुपर्यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको, केपीको मात्रै हुने भएँ, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन।’
शर्मालाई जवाफ दिने क्रममा प्रचण्डले बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे। खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने दाहालको भनाइ थियो। उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो। कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छौं, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ। त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं। अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ। म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ।’
प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे। प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेको तर भ्रमको कारणले आशंका पैदा गरेको प्रचण्डले बताए। उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे। शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले बताए।
प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि। त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टिम बनाएर पनि अध्ययन गर्ने। अहिले भ्रमको कुराहरु चिरिएका छन्। त्यसैले कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन। तपाईंले बहस गरेर राम्रो भयो। तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो। यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ।’
पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्यनन गर्ने प्रचण्डले बताए।
माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा पेस गरेको प्रस्तावमा नेतृत्व हस्तान्तरणको विषय पनि उठाइएको छ। माओवादीमा तीन दशकदेखि प्रचण्डसँगै रहेका शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएका छन्।
जसमा नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरिएको छ। 'अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,' शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ।
उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन्। तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन्।
जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टीका नेताहरूले बताएका छन्। यो विषय बाहिर आएसँगै प्रचण्ड र जनार्दनबीच टकरावको स्थिति देखिएको हो।