सोमबार, भदौ २४, २०८१

आफ्नै पार्टीका गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

 |  मंगलबार, साउन २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्।

triton college

मंगलबारको प्रतिनिधि सभा बैठकमा लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै उनले प्रश्न उठाएका हुन्।

'माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो। चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ। त्यसका विरुद्धमा पूरक उजुरी परेको छ। यो प्रमाण हो भन्नुभएको थियो। उहाँ अहिले उता हुनुहुन्छ। यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन,' थापाले भने। उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए।

थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।

'अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ। सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ। यति अभियोजन भएको छ। यति थप अनुसन्धान हुन्छ। अदालतमा विचाराधीन छ। यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कँदैन। यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,' थापाले भने।

Metro Mart
vianet

गिरीबन्धु टी स्टेटका विषयमा अदालतले दिएको २०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने उनले बताए। 'सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन। एक्सन चाहियो। तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो। देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,' थापाले भने।

सांसद थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स-साना काम गर्न आग्रह गरे। मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको भन्दै उनले धेरै नबोली काम गर्न भनेका हुन्।

‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ। साउन सकिन लाग्यो। तीर्थव्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने व्रत,’ उनले भने। उनले हरेक दिन समाचारमा मन्त्रीहरूका भाषण आउने पनि बताए।

‘हरेक दिन म यस्तो गरिदिन्छु भनेको छ, अरे बाबा, गर्ने ठाउँमा भएपछि त काम  गर्ने हो नि !’ महामन्त्री थापाले भने, ‘हामी अहिले बोल्ने ठाउँमा छौं, बोल्ने हो। मन्त्रीजीहरू काम गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीजीहरूको भाषण सुनिराखेको छु, हामी देश विकास गर्न आएको हो, हामी चमत्कार गर्छौं, अरे बाबा, गरिदिनुस् न!’

मन्त्रीहरूले एउटा मात्रै काम गरे त्यसको पाँच गुणा ज्यादा प्रचार आफूहरूले गर्ने पनि थापाले बताए। ‘हेर्नुस् त यहाँ कति छौं कांग्रेस-एमालेका सांसद, तपाईंहरूले काम गरिदिनुभयो भने यहाँ तर्सेर जाने अवस्था हुन्छ। मन्त्रीहरूले धमाधम काम गर्ने, सांसदहरूले बोल्ने हो।’

मन्त्रीहरूले संसद आउने, सांसदका कुरा सुन्ने र मन्त्रालय गएर काम गर्नुपर्ने भन्दै थापाले बाहिर नबोल्न पनि आग्रह गरेका छन्। ‘कहीँकतै मन्त्रीको अन्तर्वार्ता पढ्न नपरोस्, भाषण सुन्नु नपरोस्। प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनिराख्ने होइन। यो भन्नै पर्दैन प्रधानमन्त्रीले भ्रष्टाचार गर्नै पाउँदैन।’

प्रकाशित: Aug 13, 2024| 14:45 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्