शनिबार, जेठ १६, २०८३

दिनभरि बस्तीको बास, राति विद्यालयको आस

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

कञ्चनपुर- नजिकै जोगबुढा नदी बगिरहेको छ। खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ। दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो भनेर अझै त्रासमै छन्।

National life

थोरै पानी पर्दा पनि घर छोडेर विद्यालयमा आश्रय लिन जानुपर्ने बाध्यता कायमै छ। ‘मौसम राम्रो भएको बेला बस्तीमै बस्छौँ तर आकाशमा बादल लाग्ने बित्तिकै डरले घरमा बस्न सकिँदैन’, पटराखल्लाकी मिना सुनारले भने, ‘बस्तीमा कतिबेला बाढी पसेर के हुन्छ ? भन्ने डर लाग्छ। त्यसैले लालाबाला बोकेर विद्यालयमा रात कटाउँछौँ।’

असार तेस्रो साता गएको बाढीले त्रसित यहाँका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन्। दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछन्। ‘दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ। फेरि बिहान घर फर्किन्छौँ। असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ।’

बस्ती नजिकै जमुना आधारभूत विद्यालय छ। यहाँ वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती महिला राती बास बस्ने गरेका छन्। ‘जोगबुढा नदी बस्ती पस्दा बास उठ्यो। घर भताभुङ्ग हुनुका साथै भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो’, स्थानीय रामु मगरले भने, ‘होचो भूभाग हुँदा अझै पानी जमेकै छ। खै१ कहिलेसम्म यस्तो हुने हो ?’

उनकानुसार थोरै वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ। यहाँका स्थानीयले विगतदेखि नै सुरक्षित आवासको व्यवस्थापन गरिनुपर्ने माग गर्दै आएका छन्। जोगबुढा नदीमा पक्की तटबन्ध निर्माणका लागि बारम्बार माग गरे पनि सुनुवाइ नभएको स्थानीय मंगल सुनारले गुनासो गर्नुभयो।

Shivam cement

‘पक्की तटबन्ध निर्माण भए जोगबुढाको कटान र बाढी रोकिन्थ्यो। पक्की तटबन्ध निर्माण नहुँदा थोरै पानी पर्दा पनि डराइडराइ बस्नुपरेको छ’, उनले भने, ‘कि तटबन्ध गर्नुपर्‍यो कि त सुरक्षित आवासको व्यवस्था गरिदिए हुन्थ्यो तर कसले सुन्ने हाम्रा कुरा १’

विसं २०२१ देखि बसोबास सुरू भएको यस बस्तीमा हाल ३६ परिवार छन्। हरेक वर्षायाममा यी परिवारले त्रास मै बस्नु परिरहेको छ।   -रासस

प्रकाशित: Aug 12, 2024| 06:01 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्