सोमबार, मंसिर २९, २०८२

खोटाङमा भीरबाट लडेर र माछा पोखरीमा डुबेर दुईको मृत्यु

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

खोटाङ- खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछा पोखरीमा डुबेर मृत्यु भएको हो।

National life

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछा पोखरीमा डुबेर आज बिहान मृत्यु भएको हो।

माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछा पोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ।

मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ। रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन्।

देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछा पोखरीमा मृत फेला परेको जनाइएको छ। मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए।

‘घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ। दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ’, उनले भने, ‘आपसमा झगडा गरेको नभई दुवै जना मातेर एक आपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ। घटनास्थलमा दुवैको चप्पल, गम्बुठ र लुगाफाटा छरपस्ट छन्।’

सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 11, 2024| 20:06 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्